News

बालाजुको मोवाईल लुटपाट प्रकरणमा व्यवसायीलाई नै लाग्न सक्छ हतकडी !

बालाजुको मोवाईल लुटपाट प्रकरणमा व्यवसायीलाई नै लाग्न सक्छ हतकडी !

फागुन १ गते यातायात मजदुरले बालाजुमा गरेको आन्दोलनका क्रमा भएको मोबाइल पसल लुटपाट घटनामा ब्यवसायी नै फस्ने सम्भावना वढेको छ। लुटपाट भएको भन्दै दावी गरिए अनुसारको प्रमाण जुटाउन नसकेपछि उनिहरु समस्यामा परेका छन् ।

आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित लोत्से मलमा भएका दुई वटा पसलहरू तोडफोड गर्दै लुटपाट भएको थियो। मोबाइल पसल लुटिएका भिडियो नै सार्वजनिक भएपछि प्रहरीले सोही भिडियोका आधारमा व्यक्ति पहिचान गर्दै पक्राउ गरिरहेको छ। हालसम्म मोबाइल पसल लुटपाट भएको घटनामा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले बताए। 

लुटपाट भएको भोलिपल्ट ब्यवसायीहरुले करिब १० करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरेका थिए। मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले ८ देखि १० करोड रुपैयाँसम्मको लुटपाट भएको दाबी गर्दै सरकारले ४८ घन्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन गर्नुपर्ने बताएका थिए।

लुटपाटमा संलग्नहरू पक्राउ परेसँगै प्रहरीमा जाहेरीसमेत दिन मोबाइल व्यवसायीहरू गएका थिए। दुई वटा मोबाइल पसलबाट चार÷चार करोड गरी ८ करोड रुपैयाँ बराबरको मोबाइल तथा सरसामानहरू लुटिएको दाबी व्यवसायीले गरेका थिए।

८ करोड लुटिएको दाबी गर्दै उजुरी दिन गए पनि ८ करोड लुटिएको पुष्टि हुने खालको आधार तथा प्रमाणहरू नभएको भन्दै प्रहरीले उक्त जाहेरी दर्ता गरेको छैन। प्रहरीले लुटिएको भनिएका मोबालहरूले आईएमईआई नम्बर उपलब्ध गराउन भनेको थियो। तर, ब्यवसायीले अहिलेसम्म ८ वटा मोबाइलकोभन्दा बढी प्रमाण जुटाउन सकेका छैनन्।

लुटिएका समानहरूको विवरण तथा प्रमाण उपलब्ध गराउन नसकेपछि ती सामानहरू भन्सार छलि गरेर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ। कर छलेर मोवाईल ल्याएर बेचिएको हुनसक्ने देखिएपछि त्यसतर्फसमेत अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

बसपार्क क्षेत्र र लुटिएका भनिएका पसलहरूमा महंगा ब्राण्डका मोबाइलहरूको बिक्री शून्य प्रायः हुने गरेकोसमेत अनुसन्धानबाट देखिएकाले व्यवसायीले दाबी गरेको मूल्यको लुटपाट नै नभएको प्रहरीको निष्कर्ष छ।

यस आधारमा प्रहरीले अनुसन्धानका लागि कर कार्यालयलाई समेत पत्राचार गरेको छ। 

बालाजु मोबाइल पसल लुटपाट यातायात मजदुर लोत्से मल

विशेष