News

एमाले सरकारबाट वाहिरियो, रास्वपा अनिर्णित

एमाले सरकारबाट वाहिरियो, रास्वपा अनिर्णित

नेकपा एमाले सरकारबाट वाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ । राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेपछि अधैर्यतापूर्वक निर्णय नगर्ने भनेर आफूहरुले सरकारमा रहेका काम गर्ने सोच बनाएको भए पनि प्रधानमन्त्रीले एमाले र एमालेका मन्त्रीहरुका सन्दर्भमा दिएको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्ने निर्णयमा पुगेको उपाध्यक्ष विष्णु पौडेलले बताए ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।

बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । 

१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए ।

यो गठबन्धनमा रहेको जसपा, जनमत र नागरिक उन्मुक्तिसहित प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने समर्थन पनि फिर्ता लिएका छन् ।

विशेष