यू–१९ विश्वकपमा नेपालको चौथो जितः मलेसियामाथि १० विकेटको सानदार जित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ। मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गर्यो।
९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका लागि ओपनर ब्याटर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।
यसअघि मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।
ओपनर हैरिल हरिसनले १२ रन जोडे । पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो ।
छैटौं ब्याटर मोहम्ममद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् । नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४ दशमलव ३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।
मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए । नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ ।