News

नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्रीको गुनासो

नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्रीको गुनासो

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्ताका क्रममा उनले यस्तो गुनासो गरेका हुन।

गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको बताए। मन्त्री अर्यालले यसविषयमा आफूहरुले पनि सोचिरहेको र परिमार्जन गरेर जतिसक्दो छिटो पठाउने गरी प्रक्रिया मिलाउने बताए। 

मलेसियाका कम्पनीले कामदार माग गरेको महिनौंपछि मात्रै श्रमिक पुग्ने गरेको गुनासो गरेका छन्। नेपालबाट श्रमिक लैजान मागपत्र दूतावासमा प्रमाणिकरण गराउनुपर्छ। त्यसपछि पुनः स्वीकृति लिएर श्रमिक छनौटको प्रक्रिया अगाडी बढाउने व्यवस्था छ। त्यसका लागि ७ दिने सूचना पनि प्रकाशित गर्नुपर्ने व्यवस्था छ। 

स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति लिनुपर्छ। नेपालका सरकारी निकायले भटाभट काम गरे पनि डेढ महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए। 

नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौता अक्टोबरमा सकिँदैछ। त्यसको नविकरण गर्दा समय सापक्ष बनाउने सहमती भएको छ। यसका लागि दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिले गृह कार्य गर्नेछ। 
 

विशेष