News

मधेशवादी दलका नेता भेट्न किन जनकपुर पुगे भारतीय राजदुत ?

मधेशवादी दलका नेता भेट्न किन जनकपुर पुगे भारतीय राजदुत ?

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव जनकपुर पुगेका छन्। कालिगण्डकीको शिला जनकपुर हुँदै अयोध्या पठाउने क्रममा जानकी मन्दिर दर्शनका लागि भन्दै राजदूत श्रीवास्तव जनकपुर पुगेका हुन।

यो क्रममा उनले जनकपुरमै रहेर मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई भेटेका छन्। श्रीवास्तवले मिश्रसँग समसामयिक राजनीतिक अवस्था र मधेश प्रदेशको विकाससहितका मुद्दामा कुरा भएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले जनाएको छ।

राजदूतले जनकपुरस्थित एक होटलमा रहेर मधेशकेन्द्रितदेखि ठूला दलका नेतालाई पनि भेटेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग अलग्गै संवाद गरेका छन्। लोसपा अहिले केन्द्रदेखि प्रदेशसम्म सरकारमा गएको छैन। उनले लोसपाका मधेश प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलसँग पनि वार्ता गरेका छन्। 

त्यसैगरी उनले केन्द्र सरकारमा असन्तुष्टि जनाइरहेको जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता महेश यादवसँग पनि वार्ता गरेका छन्। जनमतले मधेशमा दोस्रो अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति छ।

आगामी फागुन २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचनसम्म एमाले–माओवादीसहितको सात दलीय गठबन्धन नरहने चर्चाबीच मधेशवादी दलहरुसँग भारतीय राजदूतको संवादलाई अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिरहेका छन्। यस्तोमा उनलाई पुस २६ गते विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपतिमा दाहालको पनि साथ मिल्ने विश्वास गरेको छ।

वर्तमान गठबन्धनलाई लिएर असन्तुष्ट रहेको भनिएको भारतले राजदूतलाई जनकपुरमै राजनीतिक भेटघाट गराएर मधेशवादीहलाई एक ठाउँमा ल्याउन खोजेको आकलन गर्न थालिएको छ। 
 

विशेष