News

दल दर्ता खारेजका लागि निवेदन दिने अधिकार कसैलाई छैनः प्रमुख निर्वाचन आयुक्त

दल दर्ता खारेजका लागि निवेदन दिने अधिकार कसैलाई छैनः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको प्रष्ट पारेका छन्।

रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा दिएको निवेदनका सन्दर्भमा उनले यस्तो वताएका हुन। ‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन’ उनले भने–‘यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’

रास्वपाको दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने उनले बताए। दल दर्ता खारेज गर्ने परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको भनाइ छ ।

तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उनले जनाए । ‘आयोगमा परेका निवेदनलाई तदनुसार समयमै निरुपण गर्छौं,’ उनले भने । विगतमा ४१ वटा दल खारेज गरेको उदाहरण दिंदै उनले भने, ‘त्यसका निश्चित क्राइटेरिया थिए । त्यो क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने कुरा निवेदन गर्न चाहन्छु ।’
 

विशेष