News

पिपरा लिंकरोडको नाम ‘महात्मा गान्धी’ राख्न खोजेपछि विवाद

पिपरा लिंकरोडको नाम ‘महात्मा गान्धी’ राख्न खोजेपछि विवाद

एडिबीको अनुदानमा निर्माण भएको पिपरा लिंकरोडको नाम ‘महात्मा गान्धी’ राख्न खोजेपछि विवाद सुरु भएको छ। वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित सडकको नामका विषयमा स्थानीयवासी दुई गुटमा विभाजित भएका छन्।

नामाकरणकै विषयमा स्थानीयवासी पक्ष र विपक्षमा प्रदर्शन गरिरहेका छन्। स्थानीय युवाले पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै सडकमा आएर विरोध प्रर्दशन गरे।

शनिबार बिहान अर्को पक्षले जनतालाई भ्रमित पारेर पिपराको विकासमा अवरोध गर्न खोजेको भन्दै प्रदर्शन गरेको छ। पिपराको विकास हुन नदिन केही व्यक्ति लागेको भन्दै उनीहरुको विरोधमा सम्पूर्ण गाउँवासी सडकमा उत्रिएको कांग्रेसका नगर सचिव समेत रहेका स्थानीय श्याम पटेलले बताए।

सडकको नाम ‘महात्मा गान्धी पथ’ राख्दैमा पिपराको कुनै पनि ऐतिहासिक पहिचान नमेटिने उनको दावी छ। विरोध प्रर्दशन सुरु भएपछि महानगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगित गरिएको जनाएको छ। 

गएको बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गर्ने कार्यक्रम तय भएको थियो।
 

विशेष