News

अर्काकी श्रीमती जिस्क्याउँदा ज्यानै गयो, हत्या आरोपमा दम्पत्ति पक्राउ

अर्काकी श्रीमती जिस्क्याउँदा ज्यानै गयो, हत्या आरोपमा दम्पत्ति पक्राउ

भारतीय नागरिकको हत्या गरेको आरोपमा गुल्मीमा श्रीमान श्रीमती नै पक्राउ परेका छन् । बिहारका ४४ वर्षिय शेख आलिनामको हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन।

गत माघ १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना स्थित कालीगण्डकी नदीको किनारमा फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेकाले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन्।

मादक पदार्थ सेवन गरेर आलिनामले आफ्नी श्रीमतीलाई जिस्काएपछि घट्ना भएको छविलालले बयान दिएका छन्। त्यही निहुँमा पछि श्रीमान् छविलाल र श्रीमती विष्णु मिलेर हथौडा प्रहार गरी हत्या गरेको प्रहरीसामु अभियुक्तहरुले बयान दिएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेको नसाको सुरमा आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले आफ्नै घरमा रहेको हथौडाले उनको टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

अभियुक्तलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृतक आलिनामको शव उनले लगाएको कपडाका आधारमा सनाखत भएको थियो। शव मृतकका भिनाजुले बुझेको प्रहरीले जनाएको छ।

विशेष