भीम रावल भन्छन्– रवि लामिछानेलाई गृहमा फर्काउन महाअभियान चलाइयो
![भीम रावल भन्छन्– रवि लामिछानेलाई गृहमा फर्काउन महाअभियान चलाइयो](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/bhim-rawal.jpg)
सत्तारुढ नेकपा (एमाले)का नेता भीमबहादुर रावलले नागरिकताजस्तो संवेदनशील विषयको विवादमा फसेका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले लामिछानेलाई गृहमा फर्काउन ‘महाअभियान’ नै चलाइएको बताए।
वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री र निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गरेको रावलले आरोप लगाए।
‘आज मन्त्रीहरु हेरौं त । जसको बैदेशिक रोजगार कम्पनी छ उसलाई श्रममन्त्री । जसको एकदम महंगो निजी स्कुल छ, ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय’ उनले भने–‘गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?’
नेता रावलले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे ।