News राजनीति

यस कारण ओलीलाई छोडेर चुनावअघिको गठबन्धन ब्यूँत्याउन चाहान्छन् प्रचण्ड

यस कारण ओलीलाई छोडेर चुनावअघिको गठबन्धन ब्यूँत्याउन चाहान्छन् प्रचण्ड

प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्व गर्न चाहान्थे। तर सत्ता गठबन्धनमा पहिलो दल वनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाहाललाई ढिम्किनसम्म दिएनन्।

देउवाले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका कुनै पनि पदमा माओवादीलाई नस्विकार्ने स्थिती बनेपछि दाहालले कांग्रेसलाई छोड्ने निर्णय गरे। कांग्रेसका अधिकांश नेताको मनोविज्ञान दाहाललाई पहिलोपल्ट प्रधानमन्त्री दिने भन्ने भएपनि देउवाको हठका कारण दाहाल गठबन्धनबाट निस्किनु स्वभाविकै थियो।

पहिलो चरण माओवादीले सरकारको नेतृत्व पाउँदा कांग्रेसले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका प्रभावशाली मन्त्रालय पाउने हिसाब भइरहेको थियो । देउवाले प्रधानमन्त्रीमा दाबी नछाडेपछि दाहाm सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बने ।

त्यसपपछि भने देउवा झस्किए। आफनो हातबाट सवै कुरा खुस्किएपछि देउवाले दाहाललाई आफनो पक्षमा पार्न कोसिस गरिरहेका छन्। उनको यही रणनीति अन्तर्गत पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने परिस्थिति बन्यो।

अहिले नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन खोजिरहेको छ। कांग्रेस–माओवादीका दोस्रो तहका नेता ‘भूमिगत’ छलफलमा छन् । छलफलको स्थान र समय गोप्य राखेर उनीहरुले पुरानो सम्वन्ध पुनः गाढा वनाउने प्रयास गरिरहेका छन्।

जसमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायत र माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत नियमित संवादमा छन् । कांग्रेसले पार्टीका सबै गतिविधि रोकेर माओवादीको विश्वास जितेर सत्ताको बाटो तय गर्ने नीति लिएको छ ।

राष्ट्रपति निर्वाचनको वातावरण र माओवादीसँग विश्वास कायम राख्नकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेका छन् भने पार्टीभित्रकै शेखर कोइराला समूहको बैठकसमेत देउवाकै आग्रहमा स्थगित भएको छ ।

अहिले सत्ता गठबन्धनमा खटपट पैदा गएको छ । एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री दाहाललाई आफू अनुकूल चल्न दबाब दिएपछि माओवादीले कांग्रेससँगको संवाद अगाडि बढाएको देखिन्छ । 

खासगरी एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभामा संसद विघटनको कुरा उठाउनु, रवि लामिछानेलाई गृहमन्त्री दिन दबाब दिनु लगायतका परिस्थितिले माओवादी वर्तमान सत्ता गठबन्धन अगाडि बढाउन नसकिने निष्कर्षमा पुगिसकेको छ । राष्ट्रपतिको निर्वाचन (फागुन २५) लाई निर्वाचनअघिको गठबन्धन ब्युँत्याउने ‘टर्निङ प्वाइन्ट’ बनाउने ध्येयका साथ छलफल भइरहेको स्रोतको दाबी छ । 

त्यसैले प्रधानमन्त्री दाहालेले लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिन खोजे पनि खासै चिन्ता लिएका छैनन् । लामिछानेको खटनपटन बालकोटबाट हुन थालेपछि प्रधानमन्त्री दाहाल चिढिएको वताईन्छ। रवि गृहमन्त्री रहँदा प्रधानमन्त्रीभन्दा एमाले अध्यक्ष ओलीप्रति उत्तरदायी देखिएको भन्दै माओवादी गृह मन्त्रालय आफै राख्ने पक्षमा पुगेको एक नेताले वताए।

नयाँ राजनीतिक शक्तिका रुपमा उदाएका रविलाई पहिले पनि दाहालले गृह मन्त्रालय दिन तयार थिएनन् । तर ओलीको साथ पाएका रविको चाहना बिपरीत अडान लिएर आफू प्रधानमन्त्री नियुक्त हुने बाटो बन्द गर्न दाहालले चाहेनन् ।

त्यसैपनि अहिलेको सत्ता गठबन्धन दाहालको चाहना नभएर बाध्यता थियो । उसैपनि दाहाल र ओलीबीच मिलनभन्दा कटुता लामो छ । तत्कालीन नेकपा विभाजनअघि एकाअर्कालाई संघीन आरोप लगाउने गरेका दुई नेताले पछिल्ला दुई वर्ष एकअर्काविरुद्ध मोर्चाबन्दी गरेका थिए । एकअर्काबीच अहिले पनि आशंका कायमै थियो । अझ सरकार गठनसँगै ओलीले एकपछि अर्को गर्दै त्यसलाई बढाएको माओवादी नेताहरुको आरोप छ ।

सभामुख र राष्ट्रपतिका कारण दाहाल ओलीसँग झस्किएका छन्। राष्ट्रपतिमा पनि विष्णु रिमाल, डोमरणि पौडेल, गुरु बराल लगायत नेताहरुको नाम आउन थालेपछि दाहाल ओलीसँग थप संशकित हुन पुगेको नेताहरु बताउँछन् ।

सभामुख र राष्ट्रपति ओलीको किचेन क्याबिनेटको मान्छे बन्दा संसदलाई पाँचै वर्ष टिकाउन मुस्किल हुने माओवादीको बुझाइ छ । आफूलाई क्रस नगर्ने र विवेक प्रयोग गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने दाहालको रणनीति छ । 

यस्तो अवस्थामा कोर्स करेक्सन गर्नुपर्छ कि भन्ने दाहाललाई लागेको माओवादी नेताहरु वताउँछन्। माओवादीले वर्तमान सत्ता साझेदारबाट अलग भई पुरानै गठबन्धन कायम गर्दा कस्तो परिस्थिति बन्छ भन्ने विषयमा परिस्थिति आकलन गरेर बसेको छ।

उनीहरुका अनुसार, रास्वपाले सरकार छाडेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास हुनेछ । रास्वपाको १९ सांसद छन् । जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । जसपाले १० पुसमा दाहालले प्रधानमन्त्रीमा दाबी गर्दा नै समर्थन गरेको थियो, तर शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै सरकारमा गएको छैन । एकीकृत समाजवादीले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

त्यसैले एमालेले साथ छाडे कांग्रेसलाई सरकारमा सहभागी गराउने माओवादी नेताहरु बताउँछन् । चुनावअघि एउटै गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा एकठाउँमा आए संसदमा बहुमत पुग्नेछ । यसमा लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरु पनि थपिन सक्छन् । एकीकृत समाजवादीका एक पदाधिकारी पनि यो अवस्था नआउला भन्न नसक्ने बताउँछन् ।

यही रणनीति अन्तर्गत दाहाल राष्ट्रपतिमा कांग्रेसलाई समेत साथमा लिएर राष्ट्रिय सहमति कायम गरेर जाने पक्षमा छन् । एमाले अध्यक्ष ओलीले आफ्नो किचेन क्याबिनेटका व्यक्तिलाई राज्यका मुख्य पदमा असिन गराएर आफ्नो सुदूर राजनीतिक भविष्य अनुकूल बनाउने उद्देश्य राखेको माओवादी नेताहरू बताउँछन् । 

यो पनि,

विशेष