News

प्रचण्डले ओलीलाई राष्ट्रपति अफर गरेपछि...

प्रचण्डले ओलीलाई राष्ट्रपति अफर गरेपछि...

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिको अफर गरेका छन् । शनिवार विहान बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई राष्ट्रपति बन्न अफर गरेका हुन।

बालुवाटार स्रोतका अनुसार आगामी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म अहिलेको गठबन्धन कायम राख्ने एमाले रणनीति देखिएपछि प्रधानमन्त्रीले ठट्टाको शैलीमा ओलीलाई राष्ट्रपति वन्न अफर गरेका हुन।

‘त्यसो हो भने तपाईं (ओली) र म मिलेर नयाँ प्राक्टिस गरौं । तपाईं राष्ट्रपति बन्नुहोस् ,म पाँच वर्ष प्रधानमन्त्री बन्छु’ दाहालको भनाई उधृत गर्दै बालुवाटार स्रोतले भन्यो–‘पार्टीबाट हामीले बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं ।’

भेटमा मूलतः रविलाई गृह मन्त्रालयमा फर्काउने र राष्ट्रपतिमा एमालेलाई जिताउनेबारे छलफल भएको वताईएको छ। लामिछानेलाई एमाले अध्यक्ष ओलीले निरन्तर साथ दिँदै आएका छन्। तर प्रधानमन्त्री दाहाल तत्काल लामिछानेलाई फर्काउने पक्षमा छैनन्। बरु, आफनै पार्टीका नेतालाई गृहमन्त्री बनाउने योजनामा दाहाल देखिएका छन् ।

‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनु हुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ। दोस्रो राहदानीबारे पनि टुंगिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रवि लामिछानेजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’

बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो। त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक समेत बोलाउन उसले माग गरेको थियो। गृह मन्त्रालय नपाए त्यसपछि बैठक बसेर थप कदम चाल्ने उसको निर्णय छ।
 

विशेष