News विदेश

३ वटा बस जत्रो चिनियाँ जासुसी बेलुन अमेरिकी सेनाले गोली हानेर खसाल्यो

३ वटा बस जत्रो चिनियाँ जासुसी बेलुन अमेरिकी सेनाले गोली हानेर खसाल्यो

अमेरिकाको समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई अमेरिकी सेनाले खसालेको छ। 

अमेरिकी रक्षा सचिव एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा चिनियाँ निगरानी बेलुनलाई खसालेको हो।

अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन ।

अमेरिकी सुरक्षा एजेन्सीहरूले अहिले बेलुनको भग्नावशेष सङ्कलन गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसी बेलुनलाई गोली हान्न स्वीकृति दिएपछि सैन्य अधिकारीले यसलाई समर्थन गरेका थिए। 

बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टलबीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो। संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो।

यो बेलुनको साइज तीन वटा बस बराबर रहेको एपीले जनाएको छ। यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको चीनले स्वीकार गरेको छ। तर, मौसम अनुसन्धानका लागि प्रयोग गरिएको उस्को दावी छ। 

जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको एपीले जनाएको छ।

अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकाले आफ्ना विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ यात्रा स्थगित गरेको छ। यसले वाशिंगटन र बेइजिङ बीचको तनाव बढाउने काम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशेष