News

उच्च अदालतले पल शाहलाई किन झिकायो पोखरा ?

उच्च अदालतले पल शाहलाई किन झिकायो पोखरा ?

बालिका बलात्कार गरेको आरोप लागेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले १५ दिनभित्र झिकाउन आदेश दिएको छ।

तनहुँ कारागारमा थुनामा रहेका शाहलाई जिल्ला अदालत नवलपुरमा रहेको मुद्दामा उच्चले झिकाउने आदेश दिएको हो । तनहुँ जिल्ला अदालतबाट भने शाहले सफाइ पाइसकेका छन्। सोमवार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले शाहलाई उपस्थित गराउन आदेश दिएको हो। 

उनीविरुद्ध नवलपुरको गैंडाकोटस्थित एक होटलमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोप छ। नाबालिग गायिकाले शाह विरुद्ध जाहेरी दिएकी थिइन्। उक्त मु्द्दामा जिल्ला अदालत नवलपुरले उनलाई अढाइ वर्ष कैदको फैसला गरेको छ।

उक्त आदेशविरुद्ध पलका वकिलहरुले उच्च अदालत पोखरामा रिट हालेका थिए। त्यही रिटमाथिको सुनुवाइका क्रममा अदालतले पललाई झिकाउन निर्देशन दिएको हो। 

यसअघि नै उनले माघ ४ गते तनहुँ अदालतबाट सफाइ पाइसकेका छन्। उनै नाबालिग गायिकालाई दमौलीको एक होटलमा बलात्कार गरेको आरोप उनीमाथि थियो। तर उक्त मुद्दाबाट सफाइ पाएका उनले गैंडाकोटको घटनाका कारण जेल जीवन बिताइरहेका छन्। 

नवलपुर अदालतले बलत्कारको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा पललाई सजाय तोकेको थियो।
 

विशेष