News

२० दिनअघि पोखरामा भएको विमान दुर्घटनाको कारण खुल्यो

२० दिनअघि पोखरामा भएको विमान दुर्घटनाको कारण खुल्यो

२० दिनअघि पोखरामा भएको विमान दुर्घटनाको कारण पत्ता लागेको छ। ०७९ माघ १ गते काठमाण्डौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज पोखरामा दुर्घटना भएको थियो।

उक्त विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धानले जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदर’मा गएको देखिएको छ । दुर्घटना जाँच आयोगका एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ । जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन ।

यस्तो समस्या हुँदा जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ र यति एयरको जहाज सोही प्रकृतिले दुर्घटनामा परेको आयोगले जनाएको छ । उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो ।

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ । 

आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी समेत गरेको छ । 
 

विशेष