बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद
![बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/06/manoj-pande.jpg)
सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन–ओसारपसारसम्बन्धी मुद्दामा सात वर्ष जेल सजाय सुनाएको हो। अदालतले पीडित पक्षले गरेको मागअनुसार सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग दाबी आंशिक पुग्ने ठहरसहित पाण्डेलाई सात वर्ष जेल सजाय सुनाएको हो।
पाण्डेविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा बाल यौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दर्ता भएको थियो। यसअघि न्यायाधीश ढकालको इजलासले माघ ११ गते पाण्डेलाई दोषी ठहर गरेको थियो तर त्यसबेला सजाय निर्धारण गरिएको थिएन।
८ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको भन्दै गत वैशाखमा एक महिलाले सामाजिक सञ्जालमा पीडा पोखेकी थिईन। पीडित भनिएकी युवतीले सुन्दरी प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टी गराउने नाममा पाण्डेले आफूलाई एभरेस्ट होटलमा लट्याउने औषधि खुवाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । दबाबमा परेको प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरेको थियो।
तर बलात्कारका घटनामा जाहेरीका निम्ति एक वर्षको हदम्याद नाघेकाले प्रहरीले मुद्दालाई तोडमोड गरिदियो । आरोप बलात्कारको थियो, तर प्रहरीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्धा चलायो।
मनोज पाण्डेमाथि प्रहरीले यही कानूनलाई टेकेर अनुसन्धान गर्यो । महत्वपूर्ण के भने यो कसुरमा आफू निर्दोष रहेको प्रमाण आरोपीले नै पुर्याउनुपर्ने हुन्छ । यसको मतलब पाण्डेले आफूमाथि लागेको अभियोग झुट्टो हो भनेर भनेर प्रमाणित गर्नुपर्ने थियो । उनले सरकारी वकिलसँगको बयान र अदालतमा गरेको बयानमा आरोप निराधार रहेको दाबी गरेका थिए ।
पीडित भनिएकी युवतीले मानव बेचविखनको कुरा कतै गरेकी थिईनन्। तर, बलात्कारमा मुद्दा लगाउन हदम्यादका कारण नमिलेपछि प्रहरीले मानव बेचविखनमा हालिदियो । अदालतले पनि त्यसमै फैसला सुनाएर एउटा नजिर बनाइदिएको छ, जसले गर्दा भविष्यमा पनि पुराना बलात्कारका घटनाहरु मानव बेचबिखनमा परिणत भएर अदालतमा पेश हुन सक्छन् ।
मानव बेचबिखन तथा ओसारपसारको मुद्धामा कुनै हदम्याद छैन । जहिले पनि उजुरी लाग्न सक्छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले दुई साताअघि दोषी ठहर गरे पनि मानव बेचबिखन तथा ओसापसारमा सोमबार मात्र सजाय निर्धारण गरेका हुन् ।
पाण्डेविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको थियो ।
मनोज पाण्डे