News

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

अर्याल मधेश प्रदेशबाट ०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी ०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी ०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर ०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी एमालेमै रहँदा तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् । 
 

विशेष