News

फुटबल इतिहाँसमा पहिलो पटक देखियो सेता कार्ड, यस्तो छ सेता र हरियो कार्डको अर्थ

फुटबल इतिहाँसमा पहिलो पटक देखियो सेता कार्ड, यस्तो छ सेता र हरियो कार्डको अर्थ

पोर्चुगल वुमन्स कपको क्वार्टरफाइनलमा बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको खेलमा इतिहाँसमै पहिलो पटक सेतो कार्डको प्रयोग भएको छ। यो विश्व फुटबलमा नयाँ इतिहासमा पहिलो रेकर्ड हो।

२१ जनवरीमा खेल चलिहरँदा रेफ्रीले दुवै टिमको स्वास्थ्यकर्मीलाई सेतो कार्ड देखाएका हुन । रेफ्रीले सेतो कार्ड देखाउँदा बेन्फिकाले ३–० को अग्रता बनाइरहेको थियो । र, इस्टाडियो डा लुजमा उपस्थित दर्शकले यसमा सकारात्मक प्रतिकृया जनाए ।

हाफ टाइम हुनुभन्दा केही समय अघिमात्र डगआउटमा रहेका एक खेलाडीले कमजोर महसुस गरेपछि खेल रोकियो । जसलाई सुल्झाउन दुवै टिमका स्वास्थ्यकर्मी सहयोगका लागि पुगे । अवस्था पुनः सहज बनेपछि रेफ्री क्याटारिना क्याम्पोसले सराहनीय र आदर्शपूर्ण कार्य देखाएका कारण दुवै टिमका स्वास्थ्यकर्मीलाई सेतो कार्ड दिए। 

बेन्फिकाले स्पोर्टिङ लिस्बनलाई ५–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो । तर, खेलको क्रममा प्रयोग भएको सेतो कार्ड अहिले विश्व फुटबलमा बहसको विषय बनेको छ । यो खेलमा १५ हजार ३२ समर्थक रंगशालामा उपस्थित थिए । जुन पोर्चुगलको महिला फुटबलको इतिहासमा मैदानमा खेल हेर्न पुगेका अहिलेसम्मकै उच्च दर्शक संख्या हो ।

विश्व फुटबलका दर्शकले हालसम्म पहेँलो र रातो कार्डको प्रयोग मात्र देख्दै आएका थिए । सन् १९७० को विश्वकपबाट फुटबलमा देखा परेको रातो र पहेँलो कार्ड पछिल्लो समय खेलको महत्वपूर्ण पाटोसमेत बनेको छ । तर, पहिलो पटक पोर्चुगलका देखाइएको सेतो कार्डको बारेमा धेरैको खुल्दुली छ।

खेलका क्रममा खेलाडी र क्लबले देखाउने आदर्शतम व्यवहार र अनुशासनपूर्ण प्रदर्शनको स्वागत र तारिफका लागि सेतो कार्डको प्रयोग गरिन्छ । खेलमा नैतिक मान्यताको स्तरवृद्धि गर्न सेतो कार्डको प्रयोग सुरु भएको हो ।

पोर्चुगलले पहिलो पटक प्रयोगमा ल्याएको सेतो कार्डसँगै खेल र खेलाडीको मूल्यांकनका लागि अरु प्रयोगहरू पनि कार्यान्वायनमा आएका छन् । कतार विश्वकपमा लामो इन्जुरी समय थपिनु र आघातिक ‘सब्सिच्युसन’ पनि सेतो कार्डसँगै फिफाले ल्याएका नयाँ नियममध्येकै थिए ।

आघातिक ‘सब्सिच्युसन’ गर्दा कुनै पनि टिमका लागि तोकिएको खेलाडी परिवर्तनको कोटामा कुनै फरक पर्दैन । यो कुनै खेलाडी मैदानमा घाइते हुँदा प्रयोग गर्न पाइन्छ ।

यसअघि सन् २०१५–१६ को सिजनमा इटालीको सिरी ‘बी’ ले हरियो कार्ड प्रयोगमा ल्याएको थियो । खेलका दौरान सकारात्मक व्यवहार र अनुशासन देखाउने खेलाडीलाई पुरस्कृत गर्न हरियो कार्डको प्रयोग गरिन्थ्यो । 
 

विशेष