News

भारतलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

भारतलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल

नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो।

पहिलो हाफको २१ औं मिनेटमा पहिलो गोल गर्दै भारतले अग्रता लिएको थियो। भारतका लागि अपूर्णाले गोल गरेकी थिइन्। नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन्। 

६९ औं मिनेटमा अर्को गोल गरेर नेपालले अग्रता लियो। कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन्। त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। 

नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन्। जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। 

अन्तिम खेलपछि भारतको ४ अंक भएको छ। भुटानसँग खेल्नुअघि बंगलादेशको पनि ४ अंक छ। बंगलादेशलाई फाइनलमा पुग्न बराबरी भए पुग्छ। यसअघि पहिलो खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–१ गोलले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो।
 

विशेष