श्रीमतीको हत्या गरी ‘लडेर मरी’ भन्दै प्रहरी कार्यालयमा पुगेपछि...
![श्रीमतीको हत्या गरी ‘लडेर मरी’ भन्दै प्रहरी कार्यालयमा पुगेपछि...](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/hatya-ff644.jpg)
रोल्पाका एक ब्यक्ति श्रीमतीको हत्या गरेर ‘लडेर मरेको’ भन्दै आफै प्रहरी कार्यालय पुगेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ।
लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो। उनले ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोप छ। दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएको थियो।
बिहान करिव ७ बजे कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर मृत्यु भएको बताएका थिए। सोही सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो।
तर, वुढाथोकीले भनेभन्दा भिन्न अवस्था देखिएपछि उनलाई नै पक्राउ गरी अनुसन्धान सुरु गरिएको पप्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको टाउकोमा चोट देखेएको छ।
सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका छन्। बुढाथोकीका श्रीमान–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बसेर सडकमा सँगै काम गर्दै आएका थिए।
आइतबार बेलुका साढे ७ बजे काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएको पाईएको छ। रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमान्ले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान लिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए ।