News

दोहोरो राहदानी र किर्ते प्रकरणमा यसरी जोगिन खोजेका थिए रवि!

दोहोरो राहदानी र किर्ते प्रकरणमा यसरी जोगिन खोजेका थिए रवि!

सर्वोच्च अदालतले १३ माघमा नागरिक्ता वदर गरिदिएपछि रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालयबाट आउट भए। पार्टी सभापतिसहित ४ वटा पद एकै पटक गुमेपछि रन्थनिएका उनले आफु अनागरिक भएको भन्दै प्रतिक्रिया जनाए।

तर, उनले १५ माघमा नै जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट पुनः नागरिकता लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बने। नागरिकतामा दोषी ठहर भए पनि उनी पुनः सरकारमा फर्किन चाहन्थे। उनको प्रयास चार ओटै पद पुनः प्राप्त गर्ने थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलेकै जिम्मेवारीमा फर्काउन अस्वीकार गरेपछि उनको पार्टीले आइतबार सरकार छाडेको छ, लामिछाने सरकारबाट एकै पटक प्रतिपक्षमा पुगेका छन्।

उनले सरकार छाड्दै गर्दा आफुमाथि अन्याय भएको भन्दै त्यसको दोस नेपाली मिडियामाथि खन्याए। ‘१२ भाई’ भन्दै नेपाली मिडियाका सम्पादक र सञ्चालकलाई विभिन्न आरोप मात्र लगाएनन्, आफु विरुद्ध समाचार लेखे समर्थक लिएर कार्यालय घेर्न आउने धम्की समेत दिए। उनलाई अव दोहोरो राहदानी र किर्तेको कसुरुमा कारवाही होला भन्ने डर छ। त्यसैले उनले आगाडि नै त्यस विषयमा बार हाल्ने प्रयास गरेका छन् । ‘अव मलाई राहदानी प्रकरणमा फसाउने प्रयास हुन्छ’ उनले भने–‘तर म डराउँदिन।  म मरेपनि, वहुलाएपनि रास्वपा अगाडि वढ्छ।’

लामिछाने नागरिकताको कसुरमा दोषी ठहर भए पनि अन्य कसुरमा भने अनुसन्धान तथा कारबाही भएको छैन। यद्यपी नागरिकताको मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएसँगै राहदानी दुरुपयोग र किर्तेको कसुरमा पनि लामिछानेविरुद्ध प्रहरीलाई अनुसन्धान गर्ने बाटो खुलेको छ।

यसअघि लामिछाने नै गृहमन्त्री भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो। पछि सर्वोच्च अदालतमा मुद्दा परेर सुनुवाइ हुँदा सक्कल फाइल झिकाएपछि प्रहरीले अनुसन्धान रोकेर फाइल सर्वोच्च पठायो।

प्रहरीले अनुसन्धान गरिरहेको मुद्दाको फाइल नै अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा छ। प्रहरीले सर्वोच्चबाट फाइल फिर्ता मागेको छैन। माग नगरेकाले सर्वोच्च अदालतले पनि फैसला तयार भएपछि मात्रै फिर्ता गर्ने भएको छ। 

त्यसअघि गृह मन्त्रालयमा मंसिर १२ गते रवि लामिछानेविरुद्ध उजुरी परेको थियो। गृह मन्त्रालयको आदेशपछि त्यसैदिन प्रहरी प्रधान कार्यालयले प्रहरी परिसर काठमाडौंमा रवि लामिछानेको सम्बन्धमा जिम्मेवारीपूर्वक छानबिन तथा अनुसन्धान गर्न पत्र पठाएको थियो। 

सोही पत्रअनुसार काठमाडौं प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीले राहदानी विभाग, निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय भरतपुर चितवन, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रविका विवरण माग गरिसकेको थियो। ती सबै निकायले प्रहरीले माग गरेअनुसारका विवरण पनि उपलब्ध गराइसकेका थिए।

जस अनुसार रवि लामिछानेले दुई पटक राहदानी  लिइसकेको पाईएको छ। ३० जनवरी २००६ मा हस्तलिखित राहदानी नेपाली दूतावास वासिङ्टन डीसीबाट र २७ मे २०१५ मा राहदानी विभागबाट अर्को राहदानी लिएको देखिएको छ।

तर पछि रवि लामिछाने नै गृहमन्त्री भएपछि प्रहरीको अनुसन्धान प्रभावित भएको थियो। लामिछानेले यो मुद्दाको अनुसन्धान गरिरहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराको सरुवा गरेका थिए। यस्तै सर्वोच्चले फाइल झिकाएका कारण पनि अनुसन्धान रोकिएको प्रहरीको भनाइ छ।

लामिछानेले दोहोरो नागरिकता र पासपोर्टको प्रयोग गरेको भने पुष्टि भइसकेको छ। सुरुमा नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएका उनले पछि अमेरिकी नागरिकता नत्यागी नेपाली पासपोर्ट लिएर प्रयोग समेत गरेका थिए। उनले नेपाली पासपोर्ट लिँदा पहिलेकै अवैध नागरिकता प्रयोग गरेका थिए। जसकारण किर्तेको कसुरमा समेत उनीमाथि मुद्दा अगाडि बढ्न सक्नेछ।

तर, नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेपछि मात्रै प्रहरीले लामिछानेविरुद्ध थप अनुसन्धान अगाडि बढाउनेबारे निर्णय लिएको जनाईएको छ। 

रवि लामिछाने

विशेष