News विदेश

टर्की भूकम्पः टर्की र सिरियामा आएका भूकम्पहरू किन घातक थिए?

टर्की भूकम्पः टर्की र सिरियामा आएका भूकम्पहरू किन घातक थिए?

दक्षिणपूर्वी टर्की र सिमाना जोडिएको सिरियामा सोमवार बिहान आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ४,८०० जनाको ज्यान गएको छ र हजारौँ मानिस घाइते भएका छन्।

पहिलो भूकम्प आएको केही घण्टापछि दोस्रो शक्तिशाली भूकम्प आएको थियो। ती भूकम्पका कारण भएको मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दिएको हो।

यो भूकम्प किन यति विनाशकारी?
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो। नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो।

परकम्पका रूपमा आएको उक्त भुइँचालो ७.५ म्याग्निट्यूडको थियो। यस्तो भुइँचालोलाई ठूलो मानिन्छ।

टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो। त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो।

लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे–वाकर भन्छिन्–‘विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन्।’

तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन। यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए। घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ।

पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा. कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउँछिन्।

‘त्यसकारण अब जीवन बचाउने कुरा प्रतिकार्यमा निर्भर रहन्छ। बाँचिरहेका मानिसहरूको उद्धारका लागि २४ घण्टा निकै महत्त्वपूर्ण हुन्छ र ४८ घण्टा पछि जीवितै उद्धार गर्न सकिने सम्भावना निकै कम हुन्छ’ उनले भनिन्।

यो यस्तो क्षेत्र हो जहाँ विगत २०० वर्षयता ठूलो भूकम्प आएको थिएन। त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो।

टर्कीमा के कारण आयो भूकम्प?
पृथ्वीको भूगर्भ विभिन्न तह मिलेर बनेको हुन्छ। चट्टानहरूको त्यस्तो तहलाई प्लेट भनिन्छ। ती एकअर्कासँगै टाँसिएर रहेका हुन्छन्। कहिलेकाहीँ प्लेटहरू यतायता हलचल गर्न खोज्छन्, तर एकअर्का हुने घर्षणका कारण रोकिन्छन्। तर कहिलेकाहीँ यस्तो दबाव सिर्जना हुन्छ जसका कारण प्लेटहरू एकअर्कामाथि खप्टिन पुग्छन् र अचानक सतहमा हलचल हुन्छ।

अहिले टर्कीमा अरेबियन प्लेट उत्तरतर्फ सरेर एनाटोलियन प्लेट थिचिएका कारण भूकम्प गएको हो। प्लेटहरूको घर्षण नै विगतमा भएका भूकम्पहरूको पनि कारण हो। यो क्षेत्रमा सन् १८२२ को अगस्टमा ७.४ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यो सोमवारको भूकम्पभन्दा निकै सानो हो।

मापनमा सानो भए पनि उक्त भूकम्पका कारण उक्त क्षेत्रमा ठूलो क्षति भएको थियो। एलेपो सहरमा मात्रै ७,००० मानिसले ज्यान गुमाएका थिए। क्षति पु¥याउन सक्ने क्षमताका परकम्पहरू एक वर्षसम्म नै आइरहे।

सोमवारको भूकम्पपछि पनि धेरै वटा परकम्पहरू आएका छन्। वैज्ञानिकहरूले यसअघिको ठूलो भूकम्पमा जस्तै परकम्पहरू निरन्तर आइरहने ठानेका छन्।

भूकम्प कसरी नापिन्छ?
भूकम्प स्केलमा नापिन्छ। त्यसलाई म्याग्निट्यूड भनिन्छ। साधरणतया म्याग्निट्यूड २.५ वा त्यसभन्दा सानो कुनै पनि भूकम्प महसुस हुँदैन। तर मापन गर्ने उपकरणहरूले यस्ता भूकम्पको पनि पहिचान गर्छन्।

म्याग्निट्यूड ५.० सम्मका भूकम्पहरू आएको थाहा हुन्छ। तिनले क्षति पनि पु¥याउन सक्छन्। टर्कीमा आएको ७.८ म्याग्निट्यूडको जत्रो भूकम्पले ठूलो क्षति पु-याउन सक्ने भएकाले यस्ता भूकम्पलाई ‘मेजर’ अर्थात् ठूलो भनेर वर्गीकरण गरिएको छ।

म्याग्निट्यूड ८.० भन्दा ठूलो भूकम्प विनाशकारी हुन्छ। त्यसको केन्द्रबिन्दुवरपर रहेका स्थानमा ठूलो विध्वंश हुन सक्छ। जापानको तटीय क्षेत्रमा सन् २०११ मा आएको भूकम्पको म्याग्निट्यूड ९.० मापन भएको थियो। त्यसले त्यहाँको भूमिमा व्यापक क्षति निम्त्याएको थियो।

उक्त भूकम्पका कारण शृंखलाबद्ध सुनामीहरू आए। एउटा सुनामीका कारण जापानको एउटा परमाणुकेन्द्रमा ठूलो दुर्घटना भयो। दक्षिण अमेरिकी राष्ट्र चिलेमा सन् १९६० मा गएको ९.५ म्याग्निट्यूडको भुइँचालोलाई अहिलेसम्म मापन गरिएकामधये ठूलो भूकम्प मानिएको छ।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।

विशेष