News विदेश

अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण वाक्लियो, यूएसएआईडी प्रमुख सामन्था किन आईन काठमाण्डौं ?

अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण वाक्लियो, यूएसएआईडी प्रमुख सामन्था किन आईन काठमाण्डौं ?

पछिल्लो एक महिनामा चार अमेरिकी महिला अधिकारीहरू नेपाल भ्रमण तय भएको छ । दुई जना आइसकेका छन् भने थप दुई जना आउँदै छन् । संयोग नै भएपनि नेपालमा महिला परराष्ट्रमन्त्री नियुक्त भएयताका तीन उच्च तहका अमेरिकी भ्रमण नेतृत्वकर्ता सबै महिला नै छन् । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल आएकी छिन् । उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पनि हुन् । पावरले यूएसएआईडीको जिम्मेवारी सन् २०२१ मे ३ बाट सम्हालेकी हुन् । सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावलको भ्रमणपछिकै यो उच्च तहको भ्रमण हो । त्यस अर्थमा यो आसन्न भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

पावरपछि अमेरिकाबाट अर्का दुई वरिष्ठ अधिकारी आउने तय भएको छ । उच्च स्रोतका अनुसार फागुन पहिलो साता दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचारले नेपाल भ्रमण गर्न लागेका हुन् । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइटहाउस अन्तर्गत रहेको छ ।

यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उप सहायक राज्यमन्त्री अख्तरले दक्षिण एसिया मामिलामा नेपाल, श्रीलंका, बंगलादेश र मालदिभ्समा संक्रमणकालिन व्यवस्था र सुरक्षा मामिला हेर्दे आएकी छन् । उनले नेपालको दुईदिने भ्रमण गर्न लागेकी हुन् ।

वरिष्ठ निर्देशक लाउबाचारको भ्रमणका लागि गृहकार्य भइरहेको कूटनीतिक स्रोतले जनाएको छ । रियर एडमिरल उपरथीसरहको पद हो । नेपाल भ्रमणको गृहकार्य गरिरहेकी लाउबाचारले मंसिर २३ मा वासिङ्टन डीसीस्थित नेपाली दूतावास पुगेर राजदूत श्रीधर खत्रीलाई समेत भेटिसकेकी छन् । उक्त शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका साझा चासोका विषयमा विचार आदानप्रदान गरेको दूतावासले जनाएको छ । लाउबाचारले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् ।

कूटनीतिक स्रोतका अनुसार यो नियमित किसिमको भ्रमण हो । तर पछिल्ला वर्षमा एमसीसी, इन्डो प्यासिफिक स्ट्र्याटेजी लगायतका मुद्दाले नेपालका नागरिकहरुमा विभिन्न किसिमका तरंगहरु उत्पन्न गरेका छन् । चीनले बीआरआई अघि बढाएसँगै यहाँ भूराजनीतिक टक्कर हुन सक्ने आकलन चलिरहेका बेला सामन्थाको भ्रमण भएको हो ।

युएसएआईडीले वक्तव्यमा सामन्थाको भ्रमणलाई ७५ वर्षयताको अमेरिका–नेपालका सरकार तथा जनताबीचको सम्बन्धलाई अझै बढाउनका लागि गरिन लागेको प्रयास भनी अर्थ्याएको छ । सामन्था आउने तयारीका लागि भर्खरै अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आएर फर्केकी थिइन् । 

विशेष