News अपराध सुरक्षा

६ वर्षिया बालिका अपहरण तथा हत्याका दोषी साहलाई जन्मकैदको फैसला

६ वर्षिया बालिका अपहरण तथा हत्याका दोषी साहलाई जन्मकैदको फैसला

बालिका अपहरण र हत्याको आरोप लागेका बर्दिबास– १४, सुगमबस्तीका अरुणकुमार साहलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत महोत्तरीले साहलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो। 

बर्दिवास नगरपालिका– १४ सुगमबस्तीका सादिम आलकी ६ वर्षीया छोरी गुवालसा खातुनको हत्या प्रकरणमा उनी दोषी ठहर भएका छन्। फैसलामा उनलाई आजीवन काराबास र पीडितलाई एक लाख क्षतिपूर्तिसमेत दिन आदेश दिइएको छ। 

न्यायाधीश रामचन्द्र खड्काको इजलासले सोमवार साह विरुद्धको अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दामा सोमवार यस्तो आदेश दिएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।

०७७ साल मंसिर ७ गते गुवालसा खातुन घरअगाडिबाटै हराएकी थिइन्। उनको शव ८ गते मध्यराती भेटिएको थियो। सोही वेला दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बर्दिबासका स्थानीयले आन्दोलन गरेका थिए। 

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड गोली चलाएको थियो। सोही क्रममा बर्दिबास– १ का सञ्जय भन्ने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।  आरोपी साहले लकडाउनकै समय गत वैशाख २८ गते गौशाला नगरपालिका वडा नं. ४ बिर्ताका ४४ वर्षीय काठको काम गर्ने  मिस्त्री दिलित ठाकुरको हत्या गरेको आरोप लागेको थियो। उनीमाथि ढुंगाले किचेर ठाकुरको हत्या गरेको आरोप छ।

उक्त हत्या आरोपमा साहलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाइएकोमा जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले धरौटी रकम बुझाउन नसक्दा केही दिन थुनामै बसेका थिए।
 

विशेष