News

अरनिको पाँडेले छोडे रविको साथः पत्रकार सम्मेलनमा जे भनियो त्यसको जिम्मा लिन्नँ

अरनिको पाँडेले छोडे रविको साथः पत्रकार सम्मेलनमा जे भनियो त्यसको जिम्मा लिन्नँ

रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) का केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेको प्रेस विरोधी अभिब्यक्रिको जिम्मेवारी नलिने वताएका छन्।

बुधबार दिउँसो ट्वीट गर्दै उनले गत आइतबार पत्रकार सम्मेलनमा लामिछानेले दिएका अभिव्यक्तिको जिम्मा आफूले नलिने बताएका हुन्। उक्त दिन बसेको रास्वपा बैठकले गरेका निर्णयको स्वामित्व आफूले लिने जनाएका उनले पत्रकार सम्मेलनका क्रममा लामिछानेले दिएको अभिव्यक्ति र व्याख्याको विषयमा भने आफु असहमत रहेको उल्लेख गरेका छन्।

‘हो, म राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार गरेका निर्णयको स्वामित्व लिन्छु– हामीले व्यापक छलफल गरेका थियौं,’ पाँडेले लेखेका छन्,‘म पत्रकार सम्मेलनको तयारीमा सहभागी थिइनँ। जे भनियो, जुन शैलीमा भनियो र जे कुरा भन्न छुटाइयो त्यसको म जिम्मा लिन्नँ।’

आइतबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो। भदौमा रास्वपा केन्द्रीय सदस्य बनेका पाँडेले युवा, सीमान्तकृत र  नेपालप्रति आशावादीहरूका पक्षमा उभिन रास्वपा कुनै एक नेताको भावनाभन्दा माथि उठ्नुपर्ने बताएका छन्।

गत आइतबार पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली मिडिया, प्रकाशक र सम्पादकहरूको चर्को आलोचना गरेका थिए। उनले ‘१२ भाई’ भन्दै सम्पादक र सञ्चालकलाई जाँड भट्टिमा वसेर नियोजित रुपमा आफु विरुद्ध समाचार लेखेको आरोप लगाएका थिए। 

रवि लामिछाने अरनिको पाँडे

विशेष