News

ओली–दाहाल सम्बन्धः घोडा देख्दा हात्ती तर्सिने, हात्ती देख्दा घोडा !

ओली–दाहाल सम्बन्धः घोडा देख्दा हात्ती तर्सिने, हात्ती देख्दा घोडा !

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको जनाईएको छ।

राष्ट्रपतिको निर्वाचनका विषयमा अहिले आशंकाहरु वढिरहेका छन् । अध्यक्ष दाहाल र नेकपा माओवादी केन्द्रका नेताहरुको अभिब्यक्तिका कारण एमाले त्रसित छ। उसो त दाहाल पनि कम त्रासमा छैनन्। प्रधानमन्त्री दाहाललाई अहिले सबैभन्दा त्रास एमाले अध्यक्ष ओलीसँगै छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देखिन्छ तर उनी कांग्रेससँग निकट हुन सकेका छैनन्। एमालेलाई नचिढ्याई कांग्रेससँग समदूरी राख्न खोज्दा दाहाल ‘दुई डुंगामा खुट्टा’ राखेजस्तो हालतमा छन । एमालेको त्रास र कांग्रेसको आसमा अघि बढ्नु दाहालका लागि सहज छैन ।

कांग्रेसले समर्थन गरेपछि दाहालले एउटै तीरले दुई सिकार गर्न खोजेका छन । एमालेलाई ‘साइज’ मा राख्ने र आफ्नो अनुकूल राष्ट्रपति बनाउने दाहालको योजना। कांग्रेसले आफ्नै दलको नेतालाई राष्ट्रपतिमा अघि सारेर असहज वनाई दिएको छ। एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने दबाब दिइरहेका बेला दाहालले भने कांग्रेससित हात बढाएका छन ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिनु नयाँ गठबन्धनमा अविश्वास सिर्जना गर्ने रणनीति भएको उल्लेख जानकारहरु वताउँछन् । यो रणनीति दाहालका लागि घातक हुने उनीहरुले बताए । एमालेसहित सत्ता गठबन्धन बनेको एक महिना नपुग्दै आशंकाको बीजारोपण भइसकेको थियो । नागरिकता पुनः प्राप्ति गर्न कानुनी प्रक्रिया नअपनाएको भन्दै सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि गठबन्धनभित्रको विवाद सार्वजनिक भइसकेको छ ।

एमालेका कतिपय नेताहरू दाहालले गठबन्धन भत्काउने मौका खोजिरहेको आशंका गर्छन। दाहालले गठबन्धनको विकल्प खोज्नु गैरराजनीतिक नैतिकता भन्दै एमालेभित्र प्रश्न उठेको छ तर एमाले नेताहरू खुलेर आलोचना गर्ने अवस्थामा छैनन । दाहाललाई फकाएर राष्ट्रपति पद आफ्नो पक्षमा पार्ने रणनीतिमा अध्यक्ष ओली छन ।

कांग्रेसले सरकारलाई विश्वासको मत नदिएको भए दाहाल गृह मन्त्रालय रास्वपालाई नदिने अडानमा टिक्ने थिएनन । त्यसबेला रास्वपाबिना सरकार अप्ठ्यारोमा पर्थ्यो तर कांग्रेस, जसपा र एकीकृत समाजवादीको विश्वास पाएपछि दाहाल बलियो देखिएका छन ।

२०७५ जेठमा एमाले र माओवादी एकता भएपछि तत्कालीन नेकपा अध्यक्ष ओलीमा देखिएका प्रवृत्ति दोहोरिने आशंका दाहाललाई छ । त्यसबेला ओलीले दाहाललाई दोस्रो नम्बरको अध्यक्ष राखेर उनका काममा भने अंकुश लगाएका थिए । 

यसपटक एमाले–माओवादी सहकार्यपछि संघ र प्रदेश सरकार तथा प्रतिनिधिसभा र प्रदेशसभामा प्रमुख पद भागबन्डा भइसकेको छ । अब एमालेको मुख्य ध्यान राष्ट्रपतिमा छ, त्यो लिइसकेपछि नेकपाकालको ओली प्रवृत्ति दोहोरिने सम्भावना रहेको माओवादीका एक नेता वताउँछन् ।
 

विशेष