News

जव अपहरणमा परेका ब्यक्ति नै मोटरसाईल चढेर फिरौती लिन आए !

जव अपहरणमा परेका ब्यक्ति नै मोटरसाईल चढेर फिरौती लिन आए !

अपहरणको नाटक गरेर फिरौती मागेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट उनीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेमा चन्द्रागिरि–१३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्रसिंह राठौरका अनुसार जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामा अपहरणमा परेको सुचना प्रहरीले पाएको थियो। उनीहरू तीनै जनाले आ–आफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको जानकारी दिएका थिए। आफूहरू अपहरणमा परेको र साढे तीन लाख नबुझाइकन फुत्किन सम्भव नभएको बताएका उनीहरुले पैसा लिएर कलंकीमा आउन भनेका थिए।

अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए।  जगतबहादुरकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पु-याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए।

प्रहरीले अपहरणकारी आउला भनेर कुरेर बसेको थियो। तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू आएनन्। बरू अपहरणमा परेको भनिएका जगतबहादुर नै मोटरसाइकलमा चढेर आइपुगेका थिए। अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएको एसपी राठौरले बताए। 

उनीमाथि सोधपुछ गरी प्रहरी फेरि रिसोर्टमा पुगेको थियो। रिसोर्टमा पुग्दा अपहरणमा परेको भनिएका कान्छामान र आशमानसहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूले नाटक थाहा पाएपछि सबैलाई पक्राउ गरेको एसपी राठौरले बताए। 

उनका अनुसार अपहरणमा परेको भनिएका व्यक्तिहरूले बिदुरबाट  केही समयअघि घर जग्गाको कारोबार गर्न १० लाख रुपैयाँ लिएका थिए। तर लामो समय बित्दा पनि उनीहरूले उक्त पैसा फिर्ता गर्न सकेनन्। फिर्ता नगरेपछि उनीहरूले नाटक गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। 
 

विशेष