News

बाघसँग लडाई गरेर ज्यान वचाएकी माईतीकुमारीको उपचार हुँदै

बाघसँग लडाई गरेर ज्यान वचाएकी माईतीकुमारीको उपचार हुँदै

बाघको आक्रमणमा परेपछि ज्युँदो फर्कनु चानचुने कुरा होईन। तर, हेटौँडा उपमहानगरपालिका–१८, हर्नामाडी एक महिला बाघसँग लडाई गरेर आफनो ज्यान बचाउन सफल भएकी छिन् ।

घाँस काट्ने एउटा कचियाको सहारामा बाघको मुखबाट फिर्ता भएकी स्थानीय ५७ वर्षीया माइतीकुमारी बयलकोटीको साहस देखेर अहिले स्थानीयवासी आस्चर्यचकित भएका छन् ।

हर्नामाडीको मानेडाँडा बस्ने उनी बुधवार करिब अपराह्न ४ बजे घाँस काट्न जाँदै थिईन। यही क्रममा उनले बाघले आक्रमण गर्यो। बाघको आक्रमणबाट घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। 

रामधुनी सिम्सारमा घाँस काट्न जाँदै गर्दा बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको ढाड, गाला र ओठमा चोट लागेको छ। घाइते माइतीकुमारीको अवस्था बुझ्न भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँ, हेटौँडा–४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देललगायत अस्पताल पुगेका थिए ।

उनी बाघको मुखबाट बच्न सफल भएको सिग्देलले जानकारी दिए । ‘बाघको आक्रमणबाट घाइते हुनुभएको छ । उहाँले कचियाको भरमा बाघसँग जुधेर बाँच्न सफल हुनुभएको बताउनुभयो,’ वडाध्यक्ष सिग्देलले भने ।

मंगलबारदेखि नै हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक थियो । मंगलबार स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले बुधबार स्थानीय राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको जनाइएको छ ।

गाउँमा बाघले निरन्तर रूपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । 
 

विशेष