News

सिके राउतले आफनै दाजुलाई राष्ट्रिय योजना आयोगको सदस्य वनाए

सिके राउतले आफनै दाजुलाई राष्ट्रिय योजना आयोगको सदस्य वनाए

अध्यक्ष डा.सिके राउतले आफ्नो दाइ डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएपछि जनमत पार्टीमा विवाद सुरु भएको छ।  सिके राउतको पार्टीले जयकान्तको सिफारिस गरेपछि बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका छन् ।

डा.जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–१ बाट निर्वाचन लडेका थिए । तर उनलाई जनता समाजवादी पार्टीका नवलकिशोर साहले चुनाव हराएका थिए । चुनावमा हारेका आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ । जयकान्त नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक थिए। ०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।

यसअघि पनि अध्यक्ष सिके राउतले आफन्त (भाउजु) बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो । 

डा.जयकान्त राउतले सिके नेतृत्वको आन्दोलनमा भने हरहमेसा साथ दिँदै आएका थिए । उनले जागिरे भए पनि स्वतन्त्र मधेस गठबन्धनलाई सघाउँदै आएका थिए । तर मधेसलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने पक्षमा भने जयकान्त थिएनन् । सिके राउत जेल पर्दा जयकान्तले नै कानुनी तथा प्रशासनिक कामहरू गरेर निकाल्न पहल गर्थे । 

सिके राउत मूलधारको राजनीतिमा आएपछि जयकान्त राउत राजनीतिमा रूपमा झन् सक्रिय भएका थिए । 
 

विशेष