News

ओलीको झोलीमा बसेर नौटंकी गर्दै रवि लामिछाने 

ओलीको झोलीमा बसेर नौटंकी गर्दै रवि लामिछाने 

वैकल्पिक राजनीतिलाई अघि बढाउने नारा दिएर संसद्को चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सभापति रवि लामिछानेले अन्ततः नेकपा एमालेको भातृ संस्था जस्तै बनाएका छन्। 

नेकपा एमाले अध्यक्ष ओलीकै इशारामा सरकारमा सहभागी भएको रास्वपा अहिले रवि लामिछानेले गृह मन्त्रालय नपाएको झोंकमा बाहिरिएको छ। रास्वपाका सभापति लामिछानेले सरकारी संयन्त्रलाई त्यागिसकेको नागरिकता देखाएर किर्ते काम गरेको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उनको सांसद् पद गुमेको थियो। 

सांसद पद गुमेसँगै उनले पार्टीभित्रको पावर सेन्टर परिर्वतन हुन्छ भन्ने भयले काम गरिरहेका अन्य मन्त्रीहरुलाई पनि राजीनामा दिन बाध्य बनाएका थिए। सरकारबाट बाहिरिने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेका छन्। 

ओलीको डिजाइनमा राष्ट्रपतिको निर्वाचनसम्म रवि लामिछानेको पार्टीले सरकारलाई समर्थन कायम राख्न लागेको हो। रविविरुद्ध उनकै पार्टीभित्र नेकपा एमालेको इशारामा चलेको भन्दै विरोध भइरहेको छ। 

यसअघि ओलीले पनि रविको नागरिकता मुद्दामा न्यायलयले गरेको फैसलाको विरोध गर्दै फैसलाबाट कसले न्याय पायो भन्दै प्रश्न गरेका थिए। उनले सर्वोच्चको निर्णयलाई आफूहरुले मान्ने तर लामिछानेको नागरिकताले उजुरीकर्तालाई के अन्याय परेको र के न्याय पाए भन्दै प्रश्न गरेका हुन्। 

‘उजुरीकर्ता व्यक्तिलाई के मर्का प¥यो ? के सरोकार के सम्बन्ध हो र के मर्का प¥यो। के अन्याय प¥यो र न्याय खोजेको हो,’ उनले भने, ‘एउटा असम्बन्धित व्यक्तिले निवेदन गरेको छ। यो फैसलाले कसले न्याय पायो ?’ उनले अदालतको काम न्याय दिने तर फैसलाबाट कसले न्याय पाएको भन्नेबारे आफूले नबुझेको बताए। उनले प्रश्न गर्दै भने, ‘कसले मर्काबाट उन्मुक्ति पायो। न्याय दिनका लागि अदालत हो। कसले न्याय पायो ?’

उनले प्रक्रियागत त्रुटिको आधारमा एउटा व्यक्तिको पद नै गएको बताए। निर्वाचन आयोगले वैधानिक छ भनेर सदर गरेको उम्मेदवार सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले निर्वाचित गरेको व्यक्तिको पद प्रक्रियागत त्रुटिले गएको बताएका थिए।

‘रवि लामिछाने ढोका खुला देखेर फुत्त संसद्मा पसेका हैनन्,’ उनले भने, ‘उजुरी परेपछि वैधानिक छ भनेर निर्वाचन आयोगले सदर गरेको। सार्वभौम सम्पन्न जनताले अत्यधिक मतले छानेको। पद गयो, केले भन्दा एउटा प्रक्रियागत त्रुटिले। पार्टी अध्यक्ष गयो। गृहमन्त्री गयो। उपप्रधानमन्त्री पद गयो। रवि लामिछानेलाई न्याय भएन भने कसले न्याय पायो ?’

ओलीले अदालतको फैसलालाई आफूहरुले मान्ने बताउँदै रवि लामिछानेसँग आफ्नो न कुनै संगठनात्मक, न नाता÷सम्बन्ध केही नरहेको बताए पनि रविले भने ओलीलाई आफ्नो राजनीतिक गुरु स्वीकार गरेको संकेत गरेका छन्। यसअघि पनि सरकारबाट आफ्ना मन्त्रीहरुलाई बाहिरिन दबाब दिनुअघि ओलीसँग टेलिफोन संवाद गरेका थिए। 

वैकल्पिक राजनीति र पुराना नेताहरुलाई गाली गर्दै पत्रकारिता त्यागेर राजनीतिमा प्रवेश गरेका रविले अहिले उनै नेताहरु जयजयकार गर्दै मिडियामाथि आक्रोश व्यक्त गरिरहेका छन्। रविले गरेका यस्ता नौटंकीहरुलाई नेपाली जनताले आफूलाई धोका दिएको महसुस गरेका छन्।
 

रवि लामिछाने

विशेष