News

विवेकशील साझाको महाधिवेशनमा पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई छैन निम्ता

विवेकशील साझाको महाधिवेशनमा पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई छैन निम्ता

विवेकशील साझा पार्टीको माघ २७ गतेदेखि काठमाडौं सुरु हुने पहिलो महाधिवेशनमा पूर्वअध्यक्ष रवीन्द्र मिश्र वहिस्करणमा परेका छन् । विवेकशील साझाले पूर्वअध्यक्ष मिश्रलाई महाधिवेशनमा निम्ता दिएको छैन।

मिश्र अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष छन्। विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको जनाएको छ। उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, चिन्तक तथा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पूर्वनेता गोविन्द नारायणलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

महाधिवेशन दुई दिनसम्म चल्नेछ। महाधिवेशन आयोजक समिति संयोजक समीक्षा बास्कोटाले यो महाधिवेशनले पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्ने र आफूहरूको अगुवाइमा सुरु वैकल्पिक अभियान अब नयाँ चरणमा पुग्ने बताइन्।

पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ। अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेबार छन्।

पाण्डेलाई तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रका पालामा कारबाहीसमेत गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको थियो। तर मिश्रले अध्यक्षबाट राजीनामा दिँदै कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका थिए।

पाण्डे पछिल्लो समय पुनः विवेकशील साझासँग जोडिँदै महाधिवेशन तयारीमा जुटेका छन्।
 

विशेष