News

तीन वर्षदेखि चीनले खोलेन ताक्लाकोट नाका, नेपालले पहलै गरेन

तीन वर्षदेखि चीनले खोलेन ताक्लाकोट नाका, नेपालले पहलै गरेन

कोरोनाको बहानामा चीनले ताक्लाकोट नाका बन्द गरेपछि त्यहाँका स्थानीय वासिन्दा समस्यामा परेका छन्। तीन वर्षदेखि बन्द रहेको यो नाका अझै सञ्चालनमा आउन सकेको छैन।

चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलास्थित यो नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन । तीन वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेका छन्।

नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा छन्। जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन । तर, नाका वन्द भएपछि तीन वर्षदेखि बजारमा चिनियाँ सामानको अभाव छ। 

विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए । व्यास गाउँपालिका–१ छाङ्रु र टिंकरका अधिकांश परिवारसहित ताक्लाकोटमा व्यापार गरिरहेकाहरू थिए ।

कोरोना आएपछि ताक्लाकोट बजार जान नपाउँदा अहिले तीन वर्षदेखि व्यापार व्यवसाय नै ठप्प रहेको व्यापारीको गुनासो छ। दार्चुलाका ताक्लाकोट बजारका धेरै व्यवसायीले पसलमा राखेको सामानको अवस्थासमेत थाहा पाउन सकेको छैनन ।

लामो समयदेखि व्यापार बन्द भएपछि धेरैजसोको जीविकामै समस्या परेको छ । चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन । स्थानीयका अनुसार नेपाली व्यावसायीहरूले ताक्लाकोटमा होटल, नेपाली उत्पादनका पसल, काठका भाडाकुडा, हाते होजियारीका सामान, नेपाली गलैंचा, बास, निगालो, छाला र अन्य हस्तकलाका सामानको वर्षौंदेखि व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुँदै थियो ।

सन् २०१४ अगाडिसम्म भारत–चीन नाकामा भन्सारको व्यवस्था थिएन । चीनको त्रिदेशीय नाका क्षेत्रमा हुने व्यापार भारत चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ । नेपालसंँग विगतमा हुने गरेको व्यापार पछिल्लो समय बन्द हुन पुगेको हो । 

हालका वर्षमा दार्चुला सदरमुकाम खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन । देशका अन्य उत्तरी सीमाका जिल्लाका चीनसित जोडिएका अन्य नाकाबाट व्यापार सुरु भए पनि पश्चिम नेपाल दार्चुलासित जोडिएको ताक्लाकोट नाका सञ्चालनका लागि कुनै किसिमको जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विशेष