News

राष्ट्रपतिमा एकमत भएका गठवन्धनका दलहरु उपराष्ट्रपतिमा तितरवितर

राष्ट्रपतिमा एकमत भएका गठवन्धनका दलहरु उपराष्ट्रपतिमा तितरवितर

उपराष्ट्रपतिको उम्मेदवारका विषयमा सत्ता गठवन्धनमा विवाद देखिएको छ। राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई सर्वसम्मत उम्मेदवार बनाएका गठबन्धनका नेताहरू उपराष्ट्रपतिमा भने एकमत हुन सकेका छैनन्।

जसपाको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले सांसद रामसहाय यादवलाई आगामी उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। बैठकले गठबन्धन दलको सहमतिअनुसार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले बताएका थिए।

तर जसपा निर्णयको भोलिपल्टै गठबन्धनमै आबद्ध नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए।

शुक्रबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको सालिकको दर्शनपछि उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए ।

यता, नागरिक उन्मुक्तिले आफ्नै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ । तर, उनी नेपालको संविधान अनुसार अयोग्य देखिएकी छन्। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर, रञ्जिताको हालको उमेर ४० वर्षमात्रै रहेको संसद सचिवालयको रेकर्डमा उल्लेख छ।

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार वनाउने पार्टीगत निर्णय नै गरेको छ। जसपा अध्यक्ष उपेन्द्र भने उपराष्ट्रपति उम्मेदवारमा सांसद रामसहायलाई मैदानमा उतारेर आफू सिराहा २ बाट उपनिर्वाचनमार्फत सिंहदरबार भित्रन चाहन्छन्। यसअघि गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए। 

उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता शनिबार हुँदै छ भने ३ चैतमा निर्वाचन गर्ने कार्यतालिका छ।

उपराष्ट्रपति

विशेष