News

एकै दिन एउटै कर्मचारीको दुई पटक सरुवाः झापा जाने तयारी गर्दा इलामको ‘रमाना’

एकै दिन एउटै कर्मचारीको दुई पटक सरुवाः झापा जाने तयारी गर्दा इलामको ‘रमाना’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको मेची नगर सरुवा गरिएका उपसचिव रमाना बुझ्दा इलामको माईनगर पुगेका छन्। यो घट्नाले उपसचिव महेन्द्र विश्वकर्माको एकै दिन दुई ठाउँमा सरुवा भएको खुलेको छ।

मन्त्रालयले १६ फागुन विश्वकर्मालाई झापाको मेचीनगर नगरपालिकामा सरुवा गरेको थियो। तर, सोही दिन उनले बुझेको रमाना पत्रमा इलामको माईनगर नगरपालिका सरुवा गरिएको उल्लेख छ । 

मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएको थाहा पाएर जाने तयारी गरिरहेका विश्वकर्माले बुझेको पत्रमा माई नगरपालिकामा खटाइएको थियो । ‘मन्त्रालयको वेबसाइटमा मेचीनगरमा सरुवाको थाहा पाएर जाने तयारी गरेको थिए । तर, पत्रमा भने माई नगरपालिका खटाइएको रहेछ,’ उनले भने, ‘मेचीनगरबाट माई नगरपालिकामा कुन कारणले सरुवा भयो थाहा छैन । म मेचीनगर पनि जान तयार नै थिए । अब माई नगरपालिका जाँदै छु ।’

एकै दिन दुई पटक भएको सरुवालाई मन्त्रालयले सामान्य घटना भएको जनाएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका अधिकारीले विश्वकर्माको सरुवा संशोधन भएको बताए। उनले भने–‘यो सामान्य घटना हो । बेलाबेला यस्तो हुने गर्दछ ।’ 

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ । 

विशेष गरी मन्त्रीको सचिवालय तथा प्रशासन महाशाखा हाबी हुँदा सरुवा थप भद्रगोल भएको र मोलमोलाइसमेत हुन थालेको आरोप लाग्न थालेको छ। 

विशेष