News विदेश

प्रतिस्पर्धी नै नभएपछि सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति

प्रतिस्पर्धी नै नभएपछि सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति

सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो। योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।

अहिले चुनावी प्रक्रिया अपनाइए पनि ६९ वर्षि सी राष्ट्रपतिमा निर्वाचित हुने भने पहिले नै तय भइसकेको थियो । सन् २०१८ मा संविधानमा २ कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाइने प्रावधान संशोधन गरिएपछि सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने ढोका खुलेको हो ।

सी पहिलोपल्ट मार्च, २०१३ मा चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । राष्ट्रपति बन्नका लागि कार्यकालको कुनै सीमा नराखिएकाले सी कहिलेसम्म चीनको राष्ट्रपति बन्छन् भन्ने विषय उनमै निर्भर रहने भएको छ ।

सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् । 
 

सी चिनफिङ

विशेष