News खेल

२०२३ मा सर्वाधिक विकेट लिने विश्वका बलर मध्ये सन्दीप लामिछाने पहिलो

२०२३ मा सर्वाधिक विकेट लिने विश्वका बलर मध्ये सन्दीप लामिछाने पहिलो

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने विकेटका हिसावले विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान पुगेका छन् । उनी सन् २०२३ मा सर्वाधिक विकेट लिने सूचीको पहिलो नम्बरमा छन्।

उनले हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएका छन्। दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । सन्दीपको औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् ।

नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् । सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् ।

सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् । केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् । उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रति ओभर ५.७३ रन खर्चेका छन् ।

यो वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा पनि नेपालको इन्ट्री भएको छ । नेपाली ओपनर आसिफ शेख अहिले सूचीको तेस्रो स्थानमा उक्लिएका छन् । हिजोकोखेलमा पीएनजीविरुद्ध सतक बनाउँदै उनी तेस्रोमा चढेका हुन् ।

आसिफले हालसम्म ९ खेलमा ३६५ रन बनाएका छन् । उनले ४५.६२ को औसतमा यति रन बटुलेका हुन्, जसमा एक सतक र दुई अर्धसतक सामेल छन् । सर्वाधिक रन बनाउनेको सूचीमा भारतका बिराट कोहली र रोहित शर्मा, ईङ्ल्यान्डका डेविड मलान र डेभोन कोनवे आसिफभन्दा पछाडि छन् । सर्वाधिक रन बनाउनेको टप १० ब्याट्सम्याको सूचीमा नेपालका कुशल मल्ल र रोहितकुमार पौडेल पनि छन् । उनीहरुले क्रमशः २९५ र २६४ रन बनाउँदै आठौं र दशौं स्थान कायम गरेका हुन् । नेपालकै कुशल भुर्तेल १३ औं नम्बरमा रहेका छन् । उनले २३९ रन बनाएका छन् ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका सुवमन गिल पहिलो स्थानमा छन् । उनले ६ खेलमा नै ६५७ रन बनाइसकेका छन् । उनको औसत ११३ भन्दामाथि छ भने स्ट्राइक रेट पनि उच्च छ । दोस्रो स्थानमा रहेका ईंग्ल्यान्डका जोस बटलरले ३७२ रन बनाएका छन् । 

सन्दीप लामिछाने

विशेष