News

राष्ट्रपतिको सपथ ग्रहण नगर्दै रामचन्द्र विवादमा, हर्न वजाएर विरोध

राष्ट्रपतिको सपथ ग्रहण नगर्दै रामचन्द्र विवादमा, हर्न वजाएर विरोध

नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सपथ ग्रहण नगर्दै विवादमा परेका छन्। निर्वाचित भएको भोलिपल्ट शुक्रबार आफ्नै बाचाविपरीत सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर पुगेपछि उनी आलोचनामा परेका हुन।

पौडेल बिहान ९ बजे पुजाका लागि पशुपति पुगेका थिए। उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। उनी पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो। पशुपतिमा पूजा सकिएपछि उनी सुन्दरीजल गएका छन्।

करिब पौने ११ बजे उनी त्यहाँबाट बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्न गए। पौडेलको सवारीका लागि एकातर्फको लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो। कार्यालय जाने समयमा जाममा फसेका सर्वसाधरणले हर्न बजाएर असन्तुष्टि जनाएका थिए।

राष्ट्रपति निर्वाचनमा पहिलो मत खसालेपछि पौडेलले बिहीबार संसद् भवनको ल्होत्से हलमा पत्रकारहरूसँग राष्ट्रपति निर्वाचित भएपछि आफूले सर्वसाधारणलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने बताएका थिए। 

प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा शीतल निवासबाट हुने भीभीआईपी आवागमनका क्रममा सडक नै खाली गराउने गरिएको थियो, छ। यही कारण सार्वजनिक सवारी आवागमन अस्तव्यस्त भएर सर्वसाधारणले सडकमा अनेक सास्ती बेहोर्दै आएका छन्।

गएको माघ २७ गते राष्ट्रपति भण्डारी संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्न जाँदा उनको सवारी हुने सडकमा आवागमन ठप्प पारिएको थियो। त्यही क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई वीर अस्पताल अगाडि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेका थिए। 
 

रामचन्द्र पौडेल

विशेष