एआईजी बढुवा सिफारिस, ५ जनाबाट आईजिपी पक्का
भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।
अहिलेका महानिरीक्षक सिंहले ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन लबइङ गरिरहेका छन् । महानिरीक्षक सिंहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणामार्फत सेवा अवधि हटाउन लबिइङ गरिरहेका छन् । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहमत रहेको स्रोतको दाबी छ ।
उनको यही प्रयासका कारण ५ एआईजीको दरबन्दी रिक्त हुँदाहुँदै पनि बढुवा भएको थिएन । आज (शुक्रबार) पनि बढुवा नभएको भए डीआईजीबाटै आईजीपी चयन गर्नुपर्ने अवस्था आउन सक्थ्यो । आईजीपी सिंहको यो प्रयासपछि भावी आईजीपीका लागि प्रतिक्षारत अधिकृतहरु सशंकित छन् ।
आईजीपीका बलिया प्रतिष्पर्धी मानिएका अशोक सिंहले नागरिकता विवादबीच राजीनामा दिएपछि भएको बढुवामा अधिकृतहरु डीआईजीकै वरियता अनुसार एआईजी बढुवामा सिफारिस भएका छन् ।
सिफारिसमाथि एक साताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था छ ।