News

कहाँ पुग्यो निर्मला पन्त घटनाको ‘नयाँ’ अनुसन्धान?

कहाँ पुग्यो निर्मला पन्त घटनाको ‘नयाँ’ अनुसन्धान?

महिनौँ भएको थियो कञ्चनपुरकी दुर्गादेवी पन्तले समाचार सुन्न र हेर्न छोडेको। तर, दुई महिनाअघि उनका छोरीहरूले उत्साहित हुँदै उनलाई एउटा टिकटक भिडिओ देखाए। जसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए, ‘गृहमन्त्रीको रूपमा मैले पहिलो निर्णय निर्मला पन्तको न्यायको लागि गरेको छु।’

उनले पदभार ग्रहण गर्दा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको निम्ति सकेको पहल गर्ने र प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए। त्यसपछि पन्तकी आमा दुर्गादेवीको मनमा थोरै आशा पलायो। उनले फाट्टफुट्ट रेडिओ सुन्न थालिन्। टिभी हेर्न थालिन्।

‘सबैले नयाँ मन्त्रीले काम गर्छन् भन्या सुन्या हुँ। रवि लामिछानेले बोलेपछि मरिसकेको आस फेरि जाग्यो’– उनले सुनाइन्। लामिछानेको निर्देशन बमोजिम गत पुस १५ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा नयाँ अनुसन्धान समिति गठन भयो। एक सातामा टोली कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान सुरु ग¥यो।

कञ्चनपुर, भीमदत्त नगरपालिकाकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। चार वर्षभन्दा बढी समय बित्दा पनि आफूहरूले न्याय नपाएको पीडित परिवारको गुनासो छ। आफ्नी छोरीका बलात्कारी÷हत्यारा पत्ता लगाएर कानुनबमोजिम सजाय भएको सुन्ने दुर्गादेवीको इच्छा हो। नयाँ अनुसन्धान समितिका अधिकारीहरू आफूकहाँ आएको उनले बताइन्।

‘कति नेता र मन्त्री आए तर कसैले पत्ता लगाएनन्। पत्ता लाउँदैनन् के भन्नु र खोइ? नयाँ मान्छेहरू भेट्न आया थे। हामी पत्ता लगाउँछौँ, तपाईँहरूले सहयोग गर्नु भन्थे। हामीलाई थाहा भएको कुरा भनेकै थ्यौँ। अरू त के गर्ने र?’ उनका वाक्यहरू प्राय प्रश्नमा पुगेर टुङ्गिन्छन्।

घटनाको अनुसन्धानमा यसअघि पनि फरक भूमिकासहित संलग्न दुर्गा सिंहलाई देखेपछि आफ्ना थुप्रै जिज्ञासा यस पटक चाहिँ मेटिने आशा गरेकी हुन् उनले। त्यतिन्जेल प्रहरीले केही मानिसको रगतको नमुना सङ्कलन गरेर काठमाण्डूस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाएको थियो।

तर, अनुसन्धानको नेतृत्व गरिरहेकी सिंहको टोली कञ्चनपुर पुगेको एक साता नबित्दै उनकै सरुवा भयो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट नेपाल प्रहरी शिक्षालय, भरतपुर पठाइयो। र, त्यसको करिब दुई सातापछि लामिछानेकै पद गयो। ‘त्यसपछि मलाई बोलेर केही पत्ता लाग्छ जस्तो लागेन। सम्झिँदा खाली तनाव मात्र हुन्छ। अब त केही आशा छैन’ दुर्गादेवी निरन्तर बोल्छिन्।

तर, सरकारमा को आउँछ वा सत्ताबाट को बाहिरिन्छ भन्ने राजनीतिक गतिविधिले प्रहरीको अनुसन्धानमा कुनै प्रभाव नपार्ने दाबी गर्छन् केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय सिंह थापा। ‘घटनामाथिको अनुसन्धानको जिम्मेवारीबाट प्रहरी पछि हट्दैन। पदमा को आउँछ र को जान्छ भन्ने राजनीतिक कुराले हामीलाई असर पर्दैन’– उनले भने।

निर्मलाको हत्यासम्बन्धी अनुसन्धान निरन्तर अघि बढेको उनको दाबी छ। अहिले नयाँ समितिको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहन आचार्यले गरिरहेका छन्। उनीबाहेक एक चिकित्सकसहित अन्य तीन सदस्य यथावत् छन्।

कुनै पनि अनुसन्धान प्रक्रियाको ‘प्रतिशत वा डिग्री’ मा मापन नहुने बताउँछन्, प्रहरी उपरीक्षक थापा। यद्यपि, प्रक्रियामा यथेष्ट काम भइरहेको उनले बताए। ‘समिति पुगेको केही अवधिमै केही सन्दिग्ध व्यक्तिहरूको नमुना सङ्कलन गरेर डिएनए प्रोफाइलिङमा क्रस म्याचको लागि काठमाण्डू ल्याइएको थियो’ उनले भने–‘तीमध्ये केहीको मेल खाएन र अझै केहीको नतिजा पर्खाइमा छौँ।’

थापाका अनुसार अनुसन्धानमा सघाइरहेका केही अधिकारीहरूको एक समूह कञ्चनपुरमै छ। विश्लेषक तथा विज्ञहरूको एक समूह भने आवश्यकता अनुरूप काठमाण्डूबाटै आउने÷जाने गरिरहेका छन्।

आइतवार नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दियो। त्यसको भोलिपल्ट उनी रिहा भए। सोमवारै नाबालिग बलात्कारकै अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेशमा खेल्न जाने अनुमति दियो।

यी दुई निर्णयसँगै सामाजिक सञ्जालमा न्यायपालिकामाथि नै प्रश्न उठाउँदै टिप्पणीहरू समेत भइरहेका छन्। ट्विटर प्रयोगकर्ता वसन्त गौतमले लेखेका छन्, ‘निर्मला पन्त बलात्कारपछि बाँचेकी भए उनलाई पनि यो समाज, सरकार र अदालत मिलेर क्षण–क्षण मार्ने थिए! यो देशमा छोरीले पाउने सबैभन्दा ठूलो न्याय मृत्यु नै हो। यसैले छोरीहरू, न्याय नखोज, यिनीहरूले पटक–पटक मार्नुअघि एकै पटक मर!’

यस्ता प्रश्न र टिप्पणीहरूकाबीच अनुसन्धानको आफ्नै दायरा हुने बताउँछन्, प्रहरी उपरीक्षक थापा। ‘आम चासोको विषय भए पनि सामाजिक सञ्जालको अपेक्षाको आधारमा अनुसन्धान गरिने होइन। तर, नेपालमा सबैभन्दा गहन रूपमा अनुसन्धान भएको कुनै विषय छ भने निर्मला पन्तकै मुद्दा हो’ उनको जिकिर छ।

प्रहरी उपरीक्षक थापाका अनुसार यस मुद्दाका लागि देशमा भएका सम्पूर्ण विधि, प्रक्रिया, पद्धति अवलम्बन गरिएको छ। भने, ‘यसमा जति गहिराइमा गएको र राज्यले लगानी गरेको अरू मुद्दा छैन। यसमा सबै विज्ञता, प्रविधि, दक्षताको प्रयोग भएका छन्।’

नतिजा नआएकै कारण अनुसन्धान अघि नबढेकोजस्तो देखिएको हुनसक्ने उनको बुझाई छ, ‘तर नतिजा नआउँदैमा केही गरेन भन्ने सोचाइबाट हामी बाहिर आउनु पर्छ।’ यस घटनाको छानबिनका लागि अझै बढी समिति बनाउने, परीक्षणलाई तीव्रता दिनेलगायत कुरामा जोड दिन सकिने उनले बताए। तर, नतिजा देखिन समय लाग्न सक्ने भन्दै प्रवक्ता थापाले ‘रानीबारी हत्याकाण्डमा बीसौँ वर्षपछि नतिजा देखिएको’ उदाहरण पेस गरे।

यो सबै भइरहँदा निर्मला पन्तकी आमा दुर्गादेवी भने आजभोलि आफूलाई यस विषयमा बोल्नै नपरोस् जस्तो महसुस हुने सुनाउँछिन्। उनी यसअघि छोरीको लागि न्याय माग्दै विभिन्न आन्दोलन र प्रदर्शनहरूमा सहभागी भएकी थिइन्। नारा लगाएकी छिन् र रुँदै सहयोगको याचनासमेत गरेकी छिन्।

तर अहिले उनले भनिन्, ‘अब म थाकिसकेँ। भनेजस्तो केही भएन। आशा हराइ हाल्यो।’

यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।

निर्मला पन्त

विशेष