पल शाहलाई जोडेर चरित्र हत्या गरेको बलात्कार पीडित भनिएकी किशोरीको गुनासो

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएपछि आईरहेका प्रतिक्रियालाई लिएर पीडित किशोरीले आपत्ति जनाएकी छिन्।
पलसँग जोडेर आफनो चरित्र हत्या गरिएको भन्दै उनले फेसबुकमा प्रतिक्रिया जनाएकी छिन्। पलले सफाई पाए लगत्तै पीडित किशोरीकै फेसवुक आईडीमा लेखिएको स्ट्याटसलाई स्कृनसर्ट गरी विभिन्न ब्यक्तिहरुले टिप्पणी गरेको विषयमा उनले आपत्ति जनाएकी छिन्।
स्कृनसर्टमा प्रयोग गरिएको स्ट्याटस आफनो नभएको र फोटोसपबाट तयार गरिएको उनको दावी छ। फेसवुकमा उनले लेखेकी छिन्–‘ हुँदा हुँदै फोटोशप गरेर यतिसम्म चरित्र हत्या? प्लिज यसो नगरिदिनुहोला।’
‘प्यारो दादा पल शाह जेल मुक्त भएकोमा बधाई तथा शुभकामना। विगतका तिता अनुभव विर्सेर सांगितिक क्षेत्रमा हाम्रो सहकार्य हुने कुरामा म विश्वस्थ छु।’ भन्दै लेखेको स्ट्याटस फोटोसपबाट तयार गरिएको उनको दावी छ।
पल शाहलाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले १४ फागुनमा अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । उनी १५ फागुनमा जेलबाट रिहा भएका थिए। पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको छ।
पल शाह