News खेल

आसिफ शेख सर्वाधिक रन बनाउने विश्वका ब्याट्सम्यानको दोस्रो नम्वरमा

आसिफ शेख सर्वाधिक रन बनाउने विश्वका ब्याट्सम्यानको दोस्रो नम्वरमा

नेपाली क्रिकेटर आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । 

सन् २०२३ मा एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने भारतका सुबमन जिल हुन् । उनले ६ खेलमा ५६७ रन जोडेका छन् । दोस्रो नम्वरमा उक्लिएका विकेटकिपर एवम् ब्याट्सम्यानसमेत रहेका आसिफले ११ खेलमा ४१० रन बनाएका छन् ।

तेस्रो स्थानमा रहेका इङ्ल्याण्डका जोस बटलरले ६ खेलमा ३७२ रन जोडेका छन् । नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन् । ११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन् ।

आशिफले विश्वकप लिग– २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा एक शतक र एक अर्धशतक बनाइसकेका छन् । आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी एक हजार रन कटाउने २ मध्ये एक नेपाली ब्याट्सम्यान हुन् । रोहित पौडेलले पनि यो सफलता हात पारेका छन् ।

विश्वकप लिग– २ मा आसिफ नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २९ खेलमा ९३४ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ११औं स्थानमा छन् । रोहितले ३२ खेलमा ८९३ रन बनाएका छन् ।

आसिफ शेख

विशेष