सजिलो छैन उपेन्द्र यादवको संसदयात्रा, यस्ता छन् ३ अवरोध
उपेन्द्रले उपचुनाव पनि हार्न सक्ने यस्तो छ कारण
सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग चुनाव हारेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जसरी पनि संसदमा पुग्ने रणनीतिमा छन्। सोही योजना अनुसार उनले उपराष्ट्रपतिमा सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार वनाएका छन्।
रामसहायले जितेमा बारा क्षेत्र २ खाली हुनेछ र उपेन्द्रले त्यहाँबाट उपचुनाव लड्नेछन्। यद्यपी जसपाबाटै प्रमिला कुमारीको उम्मेदवारी समेत यो पदका लागि परिसकेको छ ।
एउटै दलबाट एउटै पदका लागि दुईजनाको उम्मेदवारी पर्नु आफैंमा अनौठो घटना हो, तर आज र भोलीमा प्रमिला कुमारीको वक्तव्य आउनेछ, जसमा उनले आफ्नो उम्मेदवारी निष्क्रिय गराएर रामसहायका पक्षमा खुल्नेछिन् । यसो गर्दा रामसहाय निर्वाचित हुने सम्भावना भने रहन्छ।
रामसहायलाई हराउने चलखेल
तर, उपेन्द्रको सम्भावित संसद यात्रा यतिमा मात्रै पक्का हुँदैन। किनभने गत चुनावमा जनमत पार्टी अध्यक्ष सीके राउतसँग पराजित उनलाई फेरि पनि जित्न नदिन विभिन्न चलखेल हुन सक्ने स्वयं उनको दलको आकलन छ ।
त्यस्तो चलखेलको पहिलो सुरुवातमा रामसहायलाई उपराष्ट्रपति चुनाव हराउन प्रयास हुनेछ। एमालेले अष्टलक्ष्मी शाक्यलाई खडा गर्दैगर्दा संघ र प्रदेशसभा दुवैतर्फका सांसदहरुमा यसअघि नै महिला सेन्टिमेन्ट, अनि अथक राजनीतिक संघर्षको सन्देश प्रवाह भइसकेको छ । कांग्रेस, माओवादी लगायत दलका सांसदहरुले समेत भोट क्रस गर्न सक्ने आशंका छ । अनि जनमत पार्टी लगायतबाट परेको मधेसी महिला उम्मेदवारी रामसहायका लागि अर्को चुनौती हो ।
उपचुनावमा आन्तरिक तथा बाह्य चलखेल
रामसहायले चुनाव जितिहाले बारा २ को सम्भावित उपचुनाव उपेन्द्रलाई उम्मेदवार नै हुन नदिने चलखेल हुन सक्छ। गत मंसिरको सप्तरी चुनाव उपेन्द्रले आफ्नो कमजोरीका कारणले मात्रै हारेका होइनन्, बरु सीके राउतको बढ्दो क्रेज, अनि त्यसलाई बल दिनेगरी भएका ‘दृश्य–अदृश्य’ गतिविधि पनि जिम्मेवार थिए ।
बारा २ मा फेरि त्यो नहोला भन्न सकिँदैन । जसपा नेताहरुले उपेन्द्रलाई हराउनैका लागि भनेर विभिन्न उम्मेदवारहरु खडा गर्ने सम्भावना रहेको जानकारहरु वताउँछन्।
गठवन्धनमा अविश्वास
माओवादी या कांग्रेस कसैले, या दुवै दलले आफ्ना उम्मेदवार स्थानीय तवरमा खडा गर्ने परिस्थिति तयार भएमा उपेन्द्रलाई चुनाव जित्न समस्या हुनेछ। स्थानीय कमिटीले केन्द्रको निर्देशन नमान्ने अवस्था आउन सक्छ। यसो भएमा मत प्रभावित हुने उपेन्द्र यादव दोस्रो पटक चुनाव हार्ने सम्भावना उत्तिकै छ।
यसअघिका चुनावमा पनि राष्ट्रिय पार्टीका धेरै निर्देशन कार्यान्वयन भएका छैनन्। त्यसको उदाहरण जसपा आफै हो। जसपाका नेताहरुले आफनै उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दै ८० नेता÷कार्यकर्तालाई कारवाही गर्न ठिक्क पारेको छ।
जसपाले गठन गरेको छानबिन समितिले केही दिनअघि अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको प्रतिवेदनमा ८० जनामाथि कारबाही गर्न सिफारिस गरिएको छ। समितिले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिएको थियो।
केन्द्रीय तहका ४८, प्रदेश समितिका २२ र स्थानीय तहका ८२ जनासँग बयान लिइएको थियो। यीमध्ये ८० जनालाई कारबाही सिफारिस गरिएको हो।
यो पनि,
- जसपालाई यस कारण उपराष्ट्रपति दिन चाहाँदैनन् मधेशवादी दल
- जसपाका ८० जना नेता कार्यकर्ता अन्तर्घाती प्रमाणित
- प्रचण्डबाट उपराष्ट्रपति पाउने आशमा उपेन्द्र यादव, यस्तो छ उनको सांसद बन्ने रणनीति
- उपेन्द्रलाई संसद छिराउन सहज हुने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै जसपा
- निर्वाचन हारेका झलनाथ र उपेन्द्र यसरी बन्न खोज्दैछन् सांसद