News

शीतल निवास वसेर पार्टी चलाएको आरोप बोकेर विदा भईन भण्डारी

यस्ता छन् भण्डारीका हस्तक्षेपकारी कदम

शीतल निवास वसेर पार्टी चलाएको आरोप बोकेर विदा भईन भण्डारी

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।

राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी छोरीको निवासमा गएकी हुन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए । उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी भण्डारी दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीका ७ वर्ष
व्यवस्थापिका–संसदबाट पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारी त्यतिबेला उनी विश्वकै २६औं महिला राष्ट्रपतिको रूपमा आएकी थिईन। 

राष्ट्रपति हुनुअगाडि नेकपा एमाले पार्टीकी उपाध्यक्ष एवं महिला संगठनको प्रमुख रहेकी भण्डारीले राष्ट्रपति निर्वाचित भएपछि पनि एमाले पार्टीमा आफ्नो पकड भने कायम राख्न सफल भएको देखिन्छ । साधारण सदस्यसमेत नहुँदा पनि पार्टीमा उनको हस्तक्षेप कायमै रह्यो।

राष्ट्रपति भण्डारीले पार्टीमा रहँदा कहिल्यै सुमधुर सम्बन्ध नरहेको र सधैं मनमुटाव चलिरहने पार्टी नेतृ अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बन्नबाट ०७४ माघ २९ गते रोक्न सफल भइन् । उनले डोरमणि पौडेललाई मुख्यमन्त्री बनाइन्।

यसैगरी, नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा एमाले नेता माधव नेपाललाई घटुवा गर्न राष्ट्रपति भण्डारी खुलेरै लागिन। भण्डारीकै कारण ओली र पुष्पकमल दाहाल पछिको वरीयतामा नेपालको वरीयता घटुवा गर्दै वरिष्ठ नेतामा झलनाथ खनाललाई पुर्याईन।

०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्री दाबी गरेकी भण्डारीलाई पाखा लगाएर भीम रावललाई गृहमा लगेको रिस फेर्न माधव नेपाल घटुवा गरेको वताईन्छ।

यस्तै, ०७४ फागुनमा झलनाथ खनाललाई राष्ट्रपतिको उम्मेदवार वन्नबाट रोकिन। राष्ट्रपतिमा आफुलाई नदोहो¥याउने भए सक्रिय राजनीतिमा आउने ‘धम्की’ भण्डारीको तर्फबाट आएपछी ७ घन्टाको छलफलले भण्डारीलाई दोहो¥याउने सहमति जुटायो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उपचारमा निस्केका बेला प्रचण्डले बोलाएको नेकपा सचिवालय बैठक राष्ट्रपति भण्डारीसँगको परामर्शपछि मात्रै बसेको थियो । भण्डारीले ओलीको अनुपस्थितिमा नेकपामा दाहालले कुनै निर्णय लिन नसकून् भनेर केही नेताहरूलाई खटाएको वताईन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला राष्ट्रपति भण्डारीले सोल्टी होटेलको रात्रिभोजमा गएर चीनको पक्षमा ‘कार्यकारी राष्ट्रपति’ नै उभिएजसरी भाषण गरिन् । त्यो बेला धेरैले त्यसको आलोचना पनि गरे ।

‘सी विचारधारा नयाँ युगको विश्व दर्शन बनेको छ’ उनले भनेकी थिइन्। उनको भाषण गैरकूटनीतिक र दलीय आग्रहको अभिव्यक्ति जस्तै भनेर टिप्पणीसमेत गरिएको थियो।

नेकपा कालमा पार्टीभित्र उपगुट चलाउनेदेखि सरकारी नियुक्तिमा समेत राष्ट्रपति भण्डारीले चासो लिने गरेको नेकपा कालका एक केन्द्रीय सदस्य बताउँछन्। धर्मकान्त बाँस्कोटालाई त्रिवि उपकुलपति नियुक्त गराएकोदेखि २०७६ पुसमा नेपाल पर्यटन बोर्डको सीईओ दीपकराज जोशीको कार्यकाल सकिएपछिको नियुक्तिमा समेत उनको हस्तक्षेप रहेको वताईन्छ।

मन्त्री र मुख्यमन्त्रीमा समेत राष्ट्रपतिको हस्तक्षेप हुने गरेको तथ्य पनि छ । एकपटक उनको भाञ्जी बुहारी नाता पर्ने खतिवडा थरकी उद्योग सचिवले शीतल निवासकै आडमा मदिरा उद्योग सञ्चालनसम्बन्धीको विधेयक विभागीय मन्त्रीको जानकारी विनै अगाडि बढाउको तथ्य पनि सार्बजनिक भएको थियो ।

यस्तै थममाया थापा मगर मन्त्री बन्ने कुरा, गण्डकीमा पृथ्विसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने कुरादेखि राष्ट्रपतिकै कोटाबाट राष्ट्रिय सभा सदस्य हुँदै दाहाल नेतृत्वको पछिल्लो सरकारमा परराष्ट्रमन्त्री भएकी विमला राई पौडेललाई मन्त्री बनाउने कुरामा पनि राष्ट्रपतिको चासो थियो ।

यसैगरी, पार्टी, सरकार र प्रशासनमा हस्तक्षेपबाहेक राष्ट्रपति भण्डारीले धेरै आलोचना पनि खेप्नुपरेको छ । उनको ‘मेरो सरकार’भन्ने अभिव्यक्तिसँगै निर्वाचित प्रधानमन्त्रीले लगेका विधेयक फिर्ता र संसद् भङ्ग गर्ने कुरामा पनि उनी आलोचित बन्दै आएकी थिइन्।

जीवनशैलीको बारेमा पनि उनको आलोचना हुने गरेको छ। मठमन्दिर दर्शनमा जाँदा, संघीय संसदमा जाँदा पनि बेला बेला राष्ट्रपति भण्डारी विवादमा तानिँदै आइन्। ठूलो र भड्किलो खर्चमा जिल्ला भ्रमण, सामान्य कार्यक्रममा पनि तामझाम सहितको उपस्थिति र पार्टीका कार्यकर्ताले राखेका कार्यक्रममा मर्यादा बिर्सेर पुग्ने कुरा पनि उनको लागि आलोचनाको विषय बन्यो।

राष्ट्रपति विद्यादेवी भण्डारी

विशेष