News

प्रचण्ड भन्छन्– मन्त्री फेरिन सक्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन

प्रचण्ड भन्छन्– मन्त्री फेरिन सक्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै आफू नेतृत्वको सरकार तलमाथि नहुने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

उनले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताए। ‘मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु’, उनले भने, ‘तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।’

उनले राजनीतिक समीकरणमा फेरबदल भए पनि सरकारको नेतृत्व तलमाथि नहुने बताएका छन्। ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन’, उनले भने, ‘हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका थियौँ सामाजिक न्याय, सुशासन र समृद्धि। त्यसमा दृढ भएर अगाडि जान्छौँ। मन्त्रीहरू फेरिनुहुन्छ, सरकारको नेतृत्व तलमाथि हुँदैन। सरकारको नीतिगत प्राथमिकता पनि फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्।’

प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने पनि बताएका छन्। उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन्।
 

विशेष