News

दुर्गा प्रसाई छिरेपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा विवाद

दुर्गा प्रसाई छिरेपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा विवाद

बैंक तथा वित्तीय संस्थाविरुद्ध काठमाण्डौंमा मंगलवार भएको आन्दोलनमा व्यापारी दुर्गा प्रसाईका कारण विवाद भएको छ । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ भनेर लघुवित्त र बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता गठन गरेर हिँडिरहेका प्रसाई कार्यक्रममा आउने र सम्बोधन गर्ने भएपछि विवाद भएको हो।

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति गठन गरेर अध्यक्ष बनेका मणिराम ज्ञवालीले व्यक्तिगत रुपमा प्रसाईलाई सम्बोधन गर्न बोलाएका थिए । पूर्वनिर्धारित योजना थिएन । राजतन्त्र र हिन्दु धर्मको पक्षमा नाराबाजी गर्दै उत्तेजित भाषणबाजी गरिरहेका प्रसाईसँग नागरिक समाजका अगुवाहरू पनि एउटै मञ्चबाट सँगै बोल्न मानेनन् ।

पूर्व जानकारी नदिइकनै र संगठनबाट निर्णय नगरिकनै ज्ञवालीले प्रसाईलाई भाषण गर्न बोलाएपछि लघुवित्त पीडितहरूको केन्द्रीय समितिका अधिकांश पदाधिकारी असन्तुष्ट मात्रै भएनन्, कार्यक्रम छाडेर घरतिर हिँडे । त्यस्तै मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका सहभागी समेत मञ्चमा बोल्न गएनन् ।

प्रसाईले भाषण गर्न थालेपछि विभिन्न जिल्लाबाट आएका पीडित महिलाहरू आक्रोशित बनेका थिए । मधेश प्रदेशका केही महिलाहरू प्रसाईले भाषण गरिरहेको माइक खोस्न समेत अघि सरेका थिए । तर प्रहरीले छेकेपछि उनीहरूले माइक खोस्न पाएनन् ।

पीडित र आयोजकको इच्छा विपरीत सम्बोधन गर्न पुगेका प्रसाई सबै उभिरहेको ¥याली अगाडि कुर्सीमा गजधम्म परेर बसिरहेका थिए । उनी पुग्नुअघि वक्ताहरूलाई बस्ने व्यवस्था थिएन । प्रसाईं कुर्सीमा बसेपछि ¥यालीमा सहभागी महिलाहरूले असन्तुष्टी व्यक्त गर्दै होहल्ला समेत गरे । तर प्रसाईले वास्ता गरेनन्, उनलाई लघुवित्त पीडिहरूका अध्यक्ष बनेका ज्ञवालीले स्वागत गरेर कुराकानी गरे ।

प्रसाई जब भाषण गर्न थाले उनले पुरानै शैलीमा बैंक कब्जा गर्न र कर्मचारीलाई कुट्न उक्साए । बैंकको ब्याज मिनाह नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कडा टिप्पणी गरेका उनले चुनौती दिए, ‘यहाँ छन् सर्वहारा हेर्न आउनुहोस् ।’

प्रसाईले आफूलाई सर्वहारा वर्गको मुक्तिदाता भएको दाबी गर्न समेत छुटाएनन् ।

दुर्गा प्रसाई बैंक तथा वित्तीय संस्था

विशेष