News

उपराष्ट्रपति पाउनैपर्ने जनमत पार्टीको अडान, फुट्ला गठबन्धन?

उपराष्ट्रपति पाउनैपर्ने जनमत पार्टीको अडान, फुट्ला गठबन्धन?

उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेकी छन्। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन्।

तर सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा। जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी रहेको र कुरा मिल्नेमा आफू आशावादी रहेको बताए।

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय हुँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइन्छ। तर उनले त्यसमा आफूहरू नरहेको र केही दल बसेर गर्ने निर्णयलाई गठबन्धनको तर्फबाट स्वामित्व लिन नसकिने दाबी गरे।

‘गठबन्धनबाट बाहिरिनुपर्छ’
सत्ता पक्षीय गठबन्धनमा जसपा तेस्रो ठूलो दल हो। त्यसैले उसको दाबी स्वाभाविक रहेको कतिपय बताउँछन्।

तर जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको बताउँदै प्रतिनिधिसभामा जसपा भन्दा आकारमा ठूलो रहेको तर्क गरेको छ।

जसपाका नेता प्रदीपकुमार यादवले भने राष्ट्रिय सभाका सदस्यसमेत जोड्दा सङ्घीय संसद्मा तीन वटा पार्टी मिल्दा पनि आफ्नो दल ठूलो रहेको बताए।

उनका अनुसार मङ्गलवार गठबन्धनको बैठक बस्ने र रामसहाय यादव साझा उम्मेदवार हुने कुरा प्रस्ट पार्ने छ। ‘राम सहाय यादव नै गठबन्धनबाट उम्मेदवार कायम रहनुहुन्छ, अरूले फिर्ता लिनुहुन्छ, नलिएमा उहाँहरू गठबन्धनबाट बाहिर जानुहुन्छ’ नेता प्रदीपकुमार यादवले भने।

उनले उम्मेदवारी दिने जनमत पार्टी र उसलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीतर्फ सङ्केत गरेका हुन्। गठबन्धनमा पनि बस्ने र आफू खुसी उम्मेदवारी दिने कुरा मान्य नहुने उनको तर्क छ।

टुट्ला गठबन्धन?
यादवले भने, ‘गठबन्धनको चास्नी पनि खाने, तर पनि खाने अनि उम्मेदवारी पनि दिने हुँदैन, दोहोरो चरित्र चल्दैन।’ सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू जसपाको उम्मेदवारको प्रस्तावक र समर्थक नै बसेका छन्।

त्यस्तो अवस्थामा जनमत पार्टीकी उम्मेदवार पराजित हुने निश्चित जस्तो देखिन्छ। ‘चुनाव जित्नका निम्ति मात्रै होइन, सैद्धान्तिक कुरा पनि हो। दुई तीन वटा पार्टी बसेर हरेक निर्णय छुट्टै गर्ने र हामीले १० दलीय गठबन्धन मानिदिनु पर्ने भन्ने हुँदैन’, जनमत पार्टीका अध्यक्ष राउतले भने।

‘गठबन्धनमा हामी निर्णय सुन्नका निम्ति मात्रै त होइनौँ नि। छलफल भएर निर्णय हुनुप¥यो।’ उनी भन्छन्। तर जनमत पार्टी सहमति हुन नसके पनि गठबन्धन जोगाउँदै मित्रवत् प्रतिस्पर्धामा जाने पक्षमा देखिन्छ। 
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।

विशेष