News

ललितपुर बसेर बेलायती नागरिक भन्दै टिकटकबाट ठगी गर्ने महिला पक्राउ

ललितपुर बसेर बेलायती नागरिक भन्दै टिकटकबाट ठगी गर्ने महिला पक्राउ

आफुलाई बेलायती नागरिक भन्दै टिकटकबाट ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक महिलालाई पक्राउ गरेको छ। 

टिकटकमा साथी बनाइ अनलाईनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको हो।

उनले फ्रान्कलिन पलको नाममा नक्कली टिकटक आइडी बनाएकी थिइन्। सोही आइडिबाट साथी बनाइ उनले पीडितलाई ठगी गरेको प्रहरीले जनाएको छ। आफूलाई बेलायती  नागरिक भएको बताउँदै नेपाल आएपछि विवाह गरी उनलाई पनि बेलायत लैजाने प्रलोभन देखाएकी थिईन।

उनले आफ्नी श्रीमतीको मृत्यु भइसकेको बताउँने गरेकी थिईन। चिनजानपछि जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने भन्दै यसका लागि कुरियरले सम्पर्क गर्छ भनेर फोटो भिडियो समेत पठाएर पीडितलाई विश्वास दिलाएकी थिइन्।

उनले कुरियर कार्यालयबाट पार्सल पाउनको लागि डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सोरेन्स चार्ज, क्लियरेन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटक–पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले अञ्जलीलाई पक्राउ गरेको हो । उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। 

विशेष