News

विद्या भण्डारी राजनीतिमा सक्रिय हुँदा ओली संकटमा, यस्ता छन् कारण

छोरीलाई टिकट नदिएपछि ओलीसँग रुष्ट छिन् भण्डारी

विद्या भण्डारी राजनीतिमा सक्रिय हुँदा ओली संकटमा, यस्ता छन् कारण

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी २९ फागुनमा शीतल निवासबाट बिदा भईन। ११ कात्तिक ०७२ मा राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी भण्डारी दोस्रो कार्यकालका लागि २९ फागुन ०७४ मा निर्वाचित भएकी थिइन् ।

७ वर्षे कार्यकाल पुरा गरेर विदा भएकी भण्डारी सक्रिय राजनीतिमा फर्किन्छिन कि फर्किन्नन भन्ने अहिले आम चासो छ। भण्डारीले खुलेर यस विषयमा नवताए पनि राजनीतिमा आउने संकेत भने पहिलेदेखि नै दिएकी छिन्।

गत भदौमा एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै प्रदेशगत केन्द्रीय सदस्यलाई बोलाएर भण्डारीले छलफल गरेकी थिइन्। त्यतिबेला केन्द्रीय सदस्यहरूलाई एमालेको अवस्थाबारे सोध्नुका साथै अध्यक्ष केपी ओलीपछिको नेतृत्व को हुन सक्छ भनेर समेत उनले सोधेकी थिइन् । त्यो भेटमा सहभागी एक केन्द्रीय सदस्य भन्छन्–‘त्यतिबेला ओलीपछि एमालेमा नेतृत्व विकास नभएको भन्दै गुनासो पनि गरेकी थिइन्।’

संघीय संसदको चुनाव अघि एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पनि भण्डारीले सक्रिय राजनीतिमा आउन सक्ने प्रस्ट संकेत दिएकी थिईन् । यी सबै तयारी हेर्दा उनी एमालेको राजनीतिमा सकृय हुन चाहेको संकेत गर्छ । 

भण्डारी राजनीतिमा सक्रिय हुन सक्छिन् भन्ने आशंका वा चर्चाको एउटा कारण राष्ट्रपति छँदा उनले निर्वाह गरेको विवादास्पद भूमिका पनि हो। राष्ट्रपति निर्वाचन अघि एमाले उपाध्यक्ष रहेकी उनले राष्ट्रपति छँदा पनि एमाले नेता जस्तो भुमिका खेलिन। नेकपाको विवादका क्रममा नेताहरु मिलाउने देखि नागरिक्ता विधेयक रोकेर राख्नेसम्मको कृयाकलापमा उनी विवादमुक्त रहन सकिनन्। त्यसैले उनको चाहाना राजनीतिमा आउने नै देखिन्छ।

एमालेकै एउटा पङ्क्ति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन चाहन्छ। यद्यपी, एमालेमा भण्डारी सक्रिय राजनीतिमा आउने कुरामा दुई धार देखिएको छ। एउटा पक्ष भण्डारी सकृय भए आफूहरू पछि पर्ने डरमा छ । त्यसैले भण्डारी राजनीतिमा आउने चाहना ठीक नभएको वताउँछन्। जसमा उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुवास नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतको ठूलो टिम छ

अर्कोतर्फ भण्डारीको सकृयताले आफ्नो समूह बलियो हुने र उनीसँंग मिलेर पार्टी सत्तामा हालीमुहाली गर्न पाईने योजनामा अर्को पक्ष छ। अग्नि खरेल, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, शेरधन राई, विशाल भट्टराई, हिक्मत कार्की, खगराज अधिकारी, योगेश भट्टराई, पद्मा अर्याल, थममाया थापालगायतको समूह उनलाई ल्याउने पक्षमा छ । भण्डारीलाई महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेतले समर्थन गर्न सक्ने एमाले नेताहरू बताउँछन्।

समय अघि नै पदच्युत हुन सक्छन् ओली
भण्डारी एमालेको राजनीतिमा आउँदा सवै भन्दा ठुलो खतरा अध्यक्ष केपी शर्मा ओलीलाई नै हुने देखिन्छ। एमालेका दिवंगत महासचिव मदन भण्डारीको राजनीतिक विरासत बोकेकी भण्डारीले गुटगत राजनीतिमा ओलीलाई साथ दिदै आएकी छिन्। 

भण्डारी फेरि सक्रिय भए आफूलाई नै सहयोग पुग्ने एमाले अध्यक्ष ओलीले पनि ठान्छन्। त्यसैले, आफ्नो सहयोगीका रुपमा भण्डारीलाई पुनः राजनीतिमा सक्रिय गराउन ओलीले नै उत्प्रेरित गर्न सक्छन्। तर, ओलीपछि एमालेमा नेतृत्व संकटको सम्भावना बढ्दैछ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टीभित्र सर्वस्वीकार्य छैनन्। सभ्य र सौम्य स्वभावका सुवास नेम्वाङलाई ओली नेतृत्व दिन चाहँदैनन्। विगतमा माधव नेपाललाई साथ दिएका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेहरुले एमालेको नेतृत्वका लागि ओलीको निगाह प्राप्त हुने कुरा कल्पना भन्दा वाहिरको कुरा हो। 

यी नामपछि सम्भावित नेतृत्वमा गणना हुने नामहरु हुन– उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल। तर, यी दुई जना एकले अर्काेलाई स्वीकार गर्न सक्ने स्थितिमा छैनन्। त्यसैले, एमालेको सम्भावित नेतृत्व संकट टार्न एमाले पंक्तिले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन दबाब बढाउन सक्छ। 

यसो गर्दा ओली निर्धारित समय अगावै संकटमा पर्न सक्छन्। ओलीको कार्यकाल चार वर्ष अझै बाँकी छ। प्रोटोकलका हिसाबले प्रधानमन्त्री बनेका ओली भन्दा राष्ट्रपति बनेकी भण्डारी माथि हुन्छिन्। तर, पार्टीको वरीयतामा भने स्वाभाविक रुपमा ओली नै अगाडि हुनेछन्। प्रोटोकलको यो बेमेलपूर्ण स्थिति निवर्तमान राष्ट्रपति भण्डारीका लागि स्वाभाविक हुने छैन। त्यो स्थितिमा अध्यक्ष ओलीको कार्यकाल नसकिँदै भण्डारीले आफैँ नेतृत्व लिने पहल गर्न सक्छिन्।

कम्युनिष्ट एकताका लागि भण्डारी हुन सक्छिन वैकल्पिक नेता
एमालेमा ओलीप्रति असन्तुष्ट पक्ष पनि ठुलो छ, जुन राजनीतिक कत्लेआमको डरले सुसुप्त अवस्थामा छ। त्यो पक्ष भण्डारी पक्षमा खुल्न सक्छ। 

यसैगरी, राजनीतिक घटनाक्रमले एमाले, माओवादी र नेकपा एसको एकता विना कम्युनिष्टको वहुमत नपुग्ने स्पष्ट पारेको छ। तर, अहिलेको नेतृत्वबाट एकिकरणको सम्भावना कम छ। ओली–पुष्पकमल दाहाल र माधव नेपालले एकले अर्काेको नेतृत्व स्वीकार गर्ने स्थिति छैन। त्यसैले, कम्युनिस्ट नेता–कार्यकर्ताहरुलाई एकता र नेतृत्वका लागि यस्तो साझा व्यक्तित्व चाहिएको छ, जसले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकजुट पार्न सकोस्।  

मदन भण्डारीको विरासत, राष्ट्राध्यक्ष भइसकेको व्यक्तित्व, महिला नेतृत्व, अनुभव, चीनसँगको सुमधुर सम्बन्ध आदिका कारण एमाले मात्र होइन, माओवादी र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरुले भण्डारीको नेतृत्व स्वीकार गर्न सक्ने स्थिति रहन सक्छ। तीनै पार्टीको पंक्तिले भण्डारीलाई साझा नेतृत्वका रुपमा स्वीकार गर्नसक्ने सम्भावना देखिन्छ। 

त्यसैले, भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरिन् भने उनको आगमनको पहिलो असर ओलीलाई पर्नेछ, त्यसपछि प्रचण्ड र माधव नेपालमा देखिने नेताहरु वताउँछन् ।

छोरीका कारण ओलीप्रति भण्डारीको असन्तुष्टि
एमाले पछिल्लो समयमा अध्यक्ष ओलीकै कारण कमजोर भएको भण्डारीको ठम्याइ छ। एमाले–माओवादी गठबन्धनका कारण अघिल्लो संसद्मा वामपन्थीको झण्डै दुईतिहाइ बहुमत थियो । तर, पार्टी एकता भएको साढे तीन वर्षमा नै संसद् विघटन भयो र एमालेको नेतृत्वको कम्युनिस्ट सरकार ढल्यो । त्यही विवादले उत्कर्ष रूप लिँदा एमाले पनि विभाजित भयो ।

ओलीले चाहेको भए यी सबै दुर्घटना टार्न सक्थे भन्ने भण्डारीको बुझाइ छ । एमाले विभाजन रोक्न सकिने अवस्था हुँदा पनि नेतृत्वको हठले विभाजित भएको र यस्तै अवस्था कायम रहँदा एमाले थप कमजोर हुने विश्लेषणपछि सक्रिय राजनीतिमा फर्किने तयारी गरेको उनीनिकट नेताको दाबी छ ।

नागरिकता विधेयकमा एमालेको ढुलमुले नीतिबाट पनि राष्ट्रपति रुष्ट छिन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङलगायत केही नेताहरूले नागरिकता विधेयक दुवै संसद्ले दुईपटक पारित गरिसकेकाले राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्थ्यो भन्ने मत राखेका थिए । यो समूह राष्ट्रपतिले प्रमाणीकरण नगरेर आफैँ विवादमा आउने र एमाले पनि जोडिएको भन्दै असन्तुष्ट छन् । तर, राष्ट्रपतिचाहिँ एमाले आफ्नो निर्णयप्रति खरो नउत्रिएको प्रति असन्तुष्ट छिन् ।

एमालेभित्र भण्डारी रुष्ट हुनुको अर्को कारण उषाकिरणको टिकट प्रकरणलाई पनि लिने गरिएको छ । आफनी जेठी छोरी उषाकिरण भण्डारीलाई गत चुनावमा उम्मेदवार वन्न नदिएको रिस भण्डारीसँग छ। उषाकिरण काठमाडौं २ अथवा ७ बाट चुनाव लड्न चाहेको तर एमालेको एउटा समूहले अनिच्छा देखाएपछि रोकिएको एमाले स्रोत बताउँछ । 

छोरी उषाकिरणलाई टिकट नदिएपछि उनका श्रीमान् उमेश थापाका लागि टिकट मागिएको तर अध्यक्ष ओली र उनीनिकटले ‘कुन कमिटीमा छ ?’ भन्दै प्रश्न गरेको पनि एमाले स्रोतको दाबी छ । यसले पनि भण्डारी र ओलीबीच असमझदारी बढाउन भूमिका खेलेको छ ।

अहिले पनि एमालेमा ५० प्रतिशतभन्दा बढी वर्चस्व भण्डारीको रहेको एमालेमा चर्चा हुने गर्छ । भण्डारी यतिबेला सक्रिय राजनीतिमा आउनुको मुख्य कारण ओली नै भएको एक केन्द्रीय सदस्य बताउँछन् । 

विद्यादेवी भण्डारी

विशेष