News खेल

पीएनजीविरुद्ध यूएई ६ विकेटले विजयी, अव नेपालसँग भिड्ने

पीएनजीविरुद्ध यूएई ६ विकेटले विजयी, अव नेपालसँग भिड्ने

आइसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत बुधबार भएको खेलमा यूएईले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको छ।

पीएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ४ विकेट गुमाउँदै ६८ बल बाँकी रहेको अवस्थामा भेट्टाएको हो। यूएईलाई जिताउने क्रममा कप्तान मुहम्मद वासिमले ७८ बलमा ११९ रनको कीर्तिमानी पारी खेले। उनले आफ्नो इनिङमा ४ चौका र १२ छक्का पनि हाने। 

त्यस्तै यूएईका लागि भिरिट्या अरबिन्दले ५६ बलमा ३३ रन बनाए। नटआउट रहेका चुन्डागापोली रिजवानले ४४ बलमा २९ रन बनाए। पराजित पीएनजीका लागि रिले हेकुरेले २ विकेट लिए। त्यस्तै काबुआ मोरेआ र जोहन कारिकोले एक–एक विकेट लिए। 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रनको योगफल तयार पारेको थियो। त्यसक्रममा पीएनजीका कप्तान असद भालाले सर्वाधिक ६५ रनको योगदान दिए। ९२ बलको सामना गरेका भालाले ६ चौका र १ छक्का हाने। 

नोर्भन भनुवा ४९ र चाड सोपर शुन्य रनमा नटआउट रहे। ओपनर किपलिन डोरिगा २४ र हिरि हिरि ४ रनमा आउट भए। रिले हेकुरेले २२, चाल्र्स अमिनी २२ र गौडी टोकाले १५ रन थपे। यूएईका हजरत बिलाल एक्लैले ४ विकेट लिएका थिए। रोहन मुस्तफा र जवार फरिदको नाममा एक एक विकेट रह्यो। 

आज पीएनजीसँग खेलेको यूएईले बिहीबार नेपालसँग अन्तिम म्याच खेल्नेछ। पीएनजीलाई फराकिलो अन्तरले हराएपछि यूएई उत्साहित भएको छ। यद्यपि उसले एक दिवसीय मान्यता गुमाइसकेको छ। यस्तोमा एक दिवसीय मान्यता जोगाइसकेको नेपालसँग यूएई बिहीबार कीर्तिपुर मैदानमै भिड्नेछ।

बिहीबारको खेलमा नेपालले विजयी हुँदै आइसीसी विश्वकप छनोट खेल यात्रा तय गर्ने योजना बनाएको छ। 
 

आइसीसी

विशेष