News

कांग्रेसमा को को छन् अर्थमन्त्रीको दौडमा ?

कांग्रेसमा को को छन् अर्थमन्त्रीको दौडमा ?

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारीसँगै सत्ता गठबन्धन दलमा मन्त्री वन्ने तँछाड–मँछाड सुरु भएको छ। सबैभन्दा धेरै नेपाली कांग्रेसमा मन्त्रीका आकांक्षी नेताहरुको दौडधुप तिव्र छ।

कांग्रेसले नेकपा एमालेले छोडेका मन्त्रालय लिएर सरकारमा जाने तयारी गरेको छ। त्यसैले अर्थ मन्त्रालय कस्ले लिने भन्ने चासो वढेको छ। प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकाले अर्थ मन्त्रालय कांग्रेसको भागमा पर्ने नेताहरु बताउँछन् ।

अर्थमा जान महामन्त्री गगनकुमार थापा आंकाक्षी मानिएको थियो । महामन्त्री थापा आफैं पनि अर्थतन्त्रसँग जोडिएको छलफलहरुमा सहभागी भइरहेका छन् । तर उनले सार्वजनिक रुपमै मन्त्री नहुने घोषणा गरेका कारण उनको सम्भावना सकिएको छ । आफू मन्त्री होइन महामन्त्री भएको भन्दै उनले आइतबार एक कार्यक्रममा भने, ‘पाँच वर्षको लागि पाएको जिम्मेवारी सांसदको हो । न म अहिले मन्त्री बन्ने हो, न म अहिले बन्न मिल्छ ।’

कांग्रेस नेताहरुका अनुसार अब अर्थमन्त्रीको दौडमा प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता उदय शमशेर राणा छन् । पार्टी सभापति देउवाका विश्वास पात्र मानिएका डा. महत पनि अर्थमा आफ्नो दाबी स्वभाविक भएको बताउँछन् । 

पूर्व अर्थमन्त्री कार्कीले अर्थ मन्त्रालयमा आफ्नो दाबीबारे केही बोलेका छैनन् । तर उनले पार्टी नेतृत्वसँग निरन्तर लबिइङ गर्दै आएका छन् । पूर्व अर्थराज्यमन्त्री राणा पनि अर्थमन्त्रीमा आफ्नो दाबी रहेको बताउँछन् । 

कांग्रेस वृत्तमा नेता डा. शेखर कोइराला पनि मन्त्रीको आकांक्षी रहेको कतिपयले चर्चा गर्छन् । डा. शेखरले पनि बुधबार वर्तमान अर्थतन्त्रको सन्दर्भमा अन्तरक्रिया राखेका थिए ।

उपसभापति पूर्णबहादुर खड्का अर्थमन्त्री हुने गरी पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना पनि रहेको नेताहरु वताउँछन ।

अर्थमन्त्री

विशेष