झण्डै प्रतिपक्ष विहिन भएको संसदमा कांग्रेस–एमाले दुवै प्रतिपक्ष
![झण्डै प्रतिपक्ष विहिन भएको संसदमा कांग्रेस–एमाले दुवै प्रतिपक्ष](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2021/12/samsad.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई नेपाली कांग्रेस समेतले विश्वासको मत दिएपछि प्रतिपक्ष विहिन अवस्थामा पुगेको प्रतिनिधि सभाको आजको वैठकमा कांग्रेस र एमाले दुवै प्रतिपक्षको वेन्चमा देखिने भएका छन्।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आजको वैठकमा एमाले र कांग्रे दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन् । सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएको जनाईएको छ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्ने वताए । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।
उता, दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइसकेको छ ।
प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्दैछ। बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।